Jun 11, 2024

यस जीवनका पर्दाहरूको पछाडि

SCRIPTURE READING — यशैया ४२:१६

“म अन्धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोऱ्याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्यारोलाई उज्यालो र खाल्टाखुल्टी ठाउँलाई सम्म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्याग्नेछैनँ।”
यशैया ४२:१६
संसारको इतिहासमा हुने राष्ट्रहरूको बढ्ने र देखापर्ने लेखाजोखामा, साम्राज्यहरूको उदय र पतन मानिसहरूकै कारणहरूमा भर पर्दछ भनेर सतहमा देखिन्छ। राष्ट्रहरूको उन्नति र अवनिति वा राष्ट्रहरूको निर्माण र पतनका विभिन्न घट्नाहरू केही हदसम्म मानिसकै शक्ति, महत्त्वाकाँक्षा लहडबाजीको निर्णयमा हुन्छन् भनेर संसारका बुद्धिजीविहरूले सोच्दछन्। तर परमेश्वरको वचनले ती राष्ट्रहरूमा भएका र भइरहेका उथलपुथललाई देखाउने छोपेको पर्दा उघार्दछ। त्यस पर्दा भित्र, पछाडि, माथि मानव चासो र शक्तिलाई संचालन गर्नेहरूको बीचमा भइरहेको भिडन्तको नाटक खेलिरहेको हामी देख्न सक्दछौं। त्यसमा खलनायक शैतान हो भने नायक परमेश्वर हुनुहुन्छ। सर्वदयालु, करुणामय, प्रेमिलो, सदाशयी सनातन सृष्टिकर्ता परमेश्वरले आफ्ना विभिन्न जीव तथा माध्यमहरूद्वारा चुपचाप र धैर्यतापूर्वक आफ्नो मनको इच्छाले काम गरिरहनुभएको बाइबलले उघारेको पर्दाबाट हामी देख्न सक्दछौं।
राष्ट्रहरूका झगडा, तिनीहरूमा हुने भाँडभैलो, तिनीहरूको उत्थान र पतन र पृथ्वीमा भइरहेको कारोबारमा स्वर्गदूतहरूको माथि सिंहासनमा बस्नुहुने परमेश्वरले नै अझै अगुवाइ गरिरहनुभएको छ। प्रत्येक राष्ट्र र प्रत्येक व्यक्तिलाई परमेश्वरको महान् योजनाभित्र रहेर के काम गर्ने भनेर उहाँले खटाउनुहुन्छ। कहिल्यै त्रुटी गर्नु नहुने परमेश्वरको हातमा रहेको नाप्ने यन्त्रले मानिसहरू र राष्ट्रहरूको क्रियाकलापलाई नापी रहनुभएको छ। प्रत्येक व्यक्ति वा राष्ट्रले आफ्नै आत्मनिर्णयले गर्दा आफ्नो भविष्य निर्धारण गरिरहेको हुन्छ। आफ्नो लक्ष्य सम्पन्न गर्न ती सबैमाथि परमेश्वरले नै प्रभुत्व गरिरहनुभएको छ। महान् म स्वयं हुँ भन्नु हुने परमेश्वरले संसारको इतिहासको रूपरेखा उहाँको वचनमा कोरिएको हामी पढ्न सक्छौं। विभिन्न भविष्यवाणीका सिक्रीहरूले एक-एक गरेर विश्वको घट्ना वा इतिहास जोडिएको छ। विगतको अनन्त र भविष्यको अनन्तलाई औँल्याउँदै युगौँ युगमा आज हामी कुन दिर्घा छौं भनेर बाइबलले नै हामीलाई बताउँदछ। त्यसको साथै भविष्यमा आउने कुराको अपेक्षा गर्न पनि बाइबलले नै सिकाउँदछ।
विगतका भविष्यवाणीहरू पूरा भइरहेको क्रम र वर्तमान समयसम्मको इतिहास बाइबलका पानाहरूमा कोरिएका छन्। त्यही क्रममा बाँकि सबै भविष्यवाणी पूरा हुनेछ भन्ने आश्वासन पनि बाइबलमै पाउँछौं। राष्ट्रहरूको इतिहासमा परमेश्वरको लक्ष्यले कसरी काम गरिरहेको छ र प्रकट गरिएका आउने घट्नाहरूको हामी अध्ययन गर्नु आवश्यक छ। त्यसले गर्दा हामीले देखेका र नदेखेका थोकहरूको सही मूल्य र मान्यताको अनुमान हामी गर्न सक्दछौं, यस जीवनमा हाम्रो अस्तित्वको सही लक्ष्य के हो त्यो पनि हामी सिक्न सक्दछौं। जब यस संसारको पर्दा पछाडि परमेश्वरले काम गरिरहनुभएको छ भनेर बाइबलबाट देख्ने खुबी हामीमा हुन्छ तब यस जीवनमा मात्र होइन अनन्त जीवनमा पनि हाम्रो जन्मको लक्ष्य देख्न सक्ने हुन्छौं। त्यसको फलस्वरुप हामीलाई सुम्पिएको प्रत्येक थोकलाई सही र आदर्श तरिकाले उपयोग गर्न सक्ने कलाले हामी सुसज्जित हुनेछौं।
१६३

previous
अघिल्लो
अर्को
previous
chat