Jun 20, 2024

दुष्टको भाग वा तक्दिर

SCRIPTURE READING — इजकिएल १८:४ ( रूपान्तरित )।

“लौ हेर, हरेक जीवित प्राण मेरै हो– बाबु र छोरा दुवै एकैजस्तै मेरा हुन्! जुन प्राण वा व्यक्तिले पाप गर्छ, त्यही मर्छ।”
>इजकिएल १८:४ ( रूपान्तरित )।
अहिलेको जीवन होस् वा अनन्त जीवन होस्, जीवन वा प्राण अर्थात् सास धर्मीको सम्पत्ति हो, तर दुष्ट हुन रमाउनेको भाग वा तक्दिर नै मृत्यु हो जुन उसले नै रोजेको हुन्छ।
जो मानिस पाप गर्छ वा दुष्ट काम गर्न नै रमाउँछ, उसले अनन्त मृत्यु वा ऊ अस्तित्व विहिन हुन जान्छ। त्यो सदाको निम्ति मर्नेछ। येशूको आगमनमा र सहस्र वर्ष पछिको पुनरुत्थानमा दुष्ट मानिस पुनरुत्थान भएर अनन्त जीवनको स्वाद पाउँछ भन्नु आशा पनि गर्नुपर्दैन। यस संसारमा बाँचिरहँदा दुष्ट काम र पापमा रमाउने मानिसको नाश हुँदा परमेश्वरको क्रोध त्यसमाथि बज्रिनेछ।
परमेश्वरको वचनलाई नै बँग्याएर विश्वास गराउन सैतान सफल भएकोमा मलाई अचम्म लाग्दछ। परमेश्वरले भन्नुभएको “जुन् प्राण वा मानिसले पाप गर्छ त्यो मर्नेछ‚ भन्ने वचनलाई बँग्याएर पाप गर्ने मानिस मर्दैन तर अनन्त कालभरी नर्कमा कष्ट वा यातना पाएर जिउनेछ भन्ने सैतानले सिकाइरहेको छ र अनेकौँ धर्मको नाउँमा कतिपय मानिसहरूले त्यस झूट शिक्षालाई विश्वास गरिरहेका छन्। स्वर्गदूतले भन्दछन्, “जीवन भनेको जीवन नै हो। पीडामा होस् खुशियालीमा होस् जिउन सक्नु नै जीवन हो। मृत्युमा पीडा, दु:ख, आनन्द र घृणाजस्ता भावहरू हुँदैन।”
हामीले यस जीवनमा नै अनन्त जीवनको अनुभव गर्न सकौं र उहाँको दोस्रो आगमनमा अमरत्व पाएर स्वर्गीय आनन्दको उपभोग गर्न सकौं भनेर येशूले बेइज्जतसाथ पीडादायी मृत्युलाई सहनुभएको थियो। उहाँले आफ्नो बहुमूल्य जीवन दिनुभयो ताकि मृत्युको अस्तित्वलाई सदाको निम्ति बिलाउन सकोस्। जब चिहानबाट उहाँ पुनरुत्थान हुनुभयो तब असंख्य स्वर्गदूतहरू त्यहाँ भेला भएका थिए। मानिसको हितको निम्ति आफ्नो ज्यान अर्पण गर्नुहुनेले फेरि आफू जीवित हुनुभएर बहालमा लिएको युशुफको चिहानमा यो घोषणा गर्नुभएको ती स्वर्गदूतहरूले उत्सुकतासाथ सुनेका थिए, “पुनरुत्थान र जीवन मै हुँ।“ यूहन्ना ११:२५ ।
“मानिस मरेपछि फेरि जिउँदछ त?” भन्ने प्रश्नको जवाफ दिइसकेकाे छ । सारा मानव जगतको निम्ति पापको दण्ड आफूले भोग्नुभएर, चिहानमा जान राजी हुनुभएर, जो मानिस विश्वासमा मर्दछ त्यो मानिसको निम्ति चिहानलाई येशूले प्रज्ज्वलित पार्नुभएको थियो। परमेश्वर मानव अवतार लिनुभएर मानिसलाई अमरत्वको जीवन दिने प्रतिज्ञालाई साकार बनाउनुभएको थियो। यो नै बाइबलले सिकाएको सुसमाचार हो। येशूलाई विश्वास गर्ने सबैको निम्ति उहाँले अनन्त जीवन सुरक्षित राख्नुभएको थियो। जब येशू क्रूसमा मरिरहनुभएको थियो त्यसबेला पापलाई सुरुवात गर्ने सैतान र पाप गरेर परमेश्वरप्रति विश्वासघात गर्नेहरूको अन्तिम फैसला सुनाइएको थियो-तिनीहरू सदाको निम्ति मर्नेछन्। अनन्त जीवन दिन सक्नुहुने र त्यस जीवनको स्वामित्त्व हुनुहुने येशूले मात्र मृत्युलाई जित्न सक्नुहुन्थ्यो। उही येशू हाम्रो मुक्तिदाता हुनुहुन्छ।
येशू ख्रीष्ट आफै जीवन हुनुहुन्छ। उहाँ मृत्युको अनुभवबाट पार हुनुभएको थियो। त्यसले गर्दा मृत्यमाथि शक्ति हुने सैतानलाई नाश हुने फैसला सुनाइएको थियो। येशू नै हाम्रो निम्ति जीवन, जोशजाँगरको स्रोत हुनुहुन्छ। गिलियादमा मलहम छ र हाम्रो अनन्तको चिकित्सक हामीसँग हुनुहुन्छ।
१७२

previous
अघिल्लो
अर्को
previous
chat