अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्याे भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।“
लूका २२:१९
अन्तिम निस्तार चाड येशूले आफ्ना चेलाहरूसँग मनाउनुभएको थियो। पुरानो करारको निस्तार चाडको ठाउँमा उहाँले प्रभुभोजको स्थापना गर्नुभएको थियो। यो उहाँको मृत्युको सम्झनामा स्थापना गर्नुभएको थियो।
यहूदीहरूको निस्तार चाड सदाको निम्ति अन्त्य हुने भएको थियो। जुन विधि येशूले स्थापना गर्नुभएको, त्यो उहाँका उपासकहरूले सबै युगहरूमा र सबै भूमिहरूमा पालन गर्नुपर्ने हेतुले स्थापना गरिएको थियो।
ती विधिहरूमा भाग कस कसले लिन सक्छ वा सक्दैन भन्ने निर्णय मानिसहरूले गर्ने अधिकार परमेश्वरले दिनुभएको छैन। मानिसको हृदय कसले जान्न सक्छ र? सामा र गहुँलाई कसले छुट्याउन सक्छ र? “हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्।“ किनभने “जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ, कि प्रभुको कचौराबाट पिउँछ, त्याे मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ।“ “प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्याे खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ।“ १ कोरिन्थी ११:२८, २७,२९ ।
आफ्ना चेलाहरूसँग रोटी र रस खानुहुँदा ख्रीष्टले आफूलाई तिनीहरूको मुक्तिदाता हुने प्रतिवद्धता जाहेर गर्नुभएको थियो। जब हामी येशूको भाँचिएको शरीर र बगाइको रगतको प्रतिकका रूपमा रोटी र रस लिन्छौँ तब चेलाहरूसँग प्रभुभोज खाएको दृश्यलाई कल्पना गर्दै त्यहाँ हामी पनि सामेल भएको अनुभव गर्नुपर्दछ। त्यसपछि त्यो अर्पित बगैँचामा उहाँसँग जान्छौँ, जहाँ उहाँले अत्यन्तै पीडा भोग्दै संसारका पापहरूको भारी बोक्नुभएको थियो। त्यसबेला हामी त्यो दृश्यलाई हेर्दछौँ जहाँ परमेश्वरसँग मानिसलाई मेलमिलाप गराउन भयानक संघर्ष येशूले गर्नुभएको थियो। अनि हाम्रो निम्ति ख्रीष्ट क्रूसको महापीडा भोग्नुभयो त्यो पनि हामीले कल्पना गरेर हेर्न सक्दछौँ।
जब क्रूसमा टाँगिएको मुक्तिदातालाई हेर्दछौँ तब हाम्रो निम्ति स्वर्गका महामहिम सर्वोच्च परमेश्वर पिताले के त्याग गर्नुभएको त्यसको महानता र अर्थलाई अझ बुझ्न सक्ने हुन्छौँ। हाम्रो सामु मुक्तिको योजनाको महिमा वा इज्जत देखाइएको छ र कलभरीको बारेमा सोच्दा नै हाम्रा हृदयहरू पवित्ररूपमा भावुक भएर भकभक उम्लिन्छ। परमेश्वर र थुमाकाे स्तुति हाम्राे हृदयमा उच्चारण हुन्छ; हामीमा भएका घमण्ड, आफ्नो भाऊ खोज्ने प्रवृत्ति, मै ठूलो हुँ सबैले मलाई मान्नुपर्दछ र कदर गर्नुपर्छ भन्ने मानवीय भावनाले हाम्रो दिमागमा अड्डा जमाउन सक्दैन, तर त्यो अड्डा हामीमा नजमाओस् भनेर हामीले हरदम कलभरीका दृश्यहरूलाई ताजा गरेर याद गरिनै रहनुपर्दछ।
२९५