bookइतिहासका अन्तिम पानाहरू
नबुकदानेसरको सपना
दानिएल अध्याय २

नबुकदानेसरको सपना

पृथ्वीमा शक्तिशाली साम्राज्य बेबिलोनको महान् राजा नबूकदनेसरले अनौठो सपना देखे तर त्यसलाई बिर्से । राजाले बेबिलोनको सबै ज्ञानी पुरुषहरू: जादुगरहरू, ज्योतिषीहरू, मन्‍‍त्रतन्‍‍त्रगर्नेहरू र कल्दीहरूलाई बोलाएर तिनीहरूको पेशानुसार राजाको सपना र त्यसको अर्थ खोलिदिन हुकुम गरे ।

जब तिनीहरूले राजाको सपना र सपनाको अर्थ बताउन सक्दैनौँ भनेर तिनीहरू सबैले भने तब राजाले तिनीहरू सबैलाई मृत्युदण्डको घोषणा गरे किनभने तिनीहरूले छल गरेका हुन् भन्‍ने राजाको दावी थियो । दानिएल अगमवक्ताले जब राजाको यो आदेश र राजाको समस्याको बारेमा सुने तब तिनी राजाकहाँ गए र सपना र त्यसको अर्थ बताइदिने प्रतिज्ञा गर्दै समय पाऊँ भनी बिन्ती गरे । दानिएलको प्रार्थनाको परिणाम स्वरूप परमेश्वरले उनलाई राति दर्शनमा गोप्यकुरा प्रकट गर्नुभयो (दानिएल २:१९) । सबैकुराको निम्ति स्वर्गको परमेश्वरलाई महिमा दिँदै दानिएलले राजालाई सपना र यसको अर्थ बताइदिए (दानिएल २:२८-४५)। सालिकमा भएको निखुर सुनको टाउकोले बेबिलोन राज्यको प्रतिनिधित्व गर्दछ । बेबिलोनलाई बाइबलका विभिन्‍न पुस्तकहरूमा यसरी भनिएको छ, “राज्यहरूको महिमा” यशैया १३:१९ र “राज्यहरूकी रानी” यशैया ४७:५ । त्यो सुनौलो राज्यको राजधानी बेबिलोन जुनचाहिँ पूर्वको भव्य भरिपूर्ण बगैंचामा अवस्थित थियो । त्यो ६० माइल परिधि र १५ माइल चारैतिर ठीक वर्गाकार आकारमा बनेको थियो । त्यो शहरलाई चारैतिर वरिपरि ३५० फिट अग्‍लो र ८७ फिट चौडा पर्खालले घेरेएको थियो । यसमा कडा पित्तल समावेश गरी बनाइएका एक सय ढोकाहरू थिए । युफ्रेटिस नदी तीरजस्तै बनेर शहरको पर्खालको मुनिबाट बग्दथ्यो जहाँ मन्दिर र दरबारको महिमा छल्किन्थ्यो । त्यो प्राचीन संसारको एकमात्र अचम्मको प्रख्यात झुण्डिरहेको बगैंचा थियो । बेबिलोनी साम्राज्यको सर्वोच्‍चता ई.पू. ६०६ देखि ई.पू. ५३९ सम्म रहेको थियो ।

छाती र पाखुरा चाँदीका थिए, यसले मादी र फारसी साम्राज्यको संकेत गर्दछ । फारसका कोरेस राजाले ठूलो युक्ति लगाएर ई.पू. ५३९ मा बेबिलोनलाई कब्जा गर्न सफल भएका थिए । एकरात जब पुरै शहर मातिरहेको थियो (जुन मद्यपानको दृश्यको वर्णन दानिएल ५ अध्यायमा गरिएको छ) तब कोरेस राजाले यो मौका छोपी बेबिलोन दरबारको पर्खाल मुनिबाट बग्‍ने युफ्रेटिस नदीलाई मोडेर कृत्रिम पोखरीमा पानीलाई जम्मा गरे र नदीको पानी तर्केपछि कोरेसको सेनाहरू पर्खाल मुनिबाट भित्र पसे । संसारमा मादी र फारसी राज्यको सर्वोच्‍चता ई.पू. ५३९ देखि ई.पू. ३३१ सम्म रह्‍यो त्यसपछि यसलाई

अलेक्‍जेण्डर महान्‌ले कब्जा गरेएका थिए । सालिकका तिघ्राहरू पित्तलका थिए । यसले ग्रीस राज्यको संकेत गर्दछ । ग्रीसका सेनाहरूलाई पित्तले सेना भनिन्थ्यो । तिनीहरूको हातहतियार बनाउन पित्तलले ठूलो भूमिका खेलेको थियो । ग्रीसको सर्वोच्‍चता ई.पू. ३३१ देखि ई.पू. १६८ सम्म रह्‍यो ।

सालिकका खुट्टाहरू फलामका थिए । यसले रोमी साम्राज्यको संकेत गर्दछ । रोमको सर्वोच्‍चता ई.पू. १६८ देखि सन् ४७६ सम्म संसारको मालिक स्वरूप शताब्दीऔं सम्म रह्‍यो । फलाम र माटो मिसिएर बनेको सालिकको खुट्टाले विभाजनको संकेत गर्दछ किनकि फलाम र माटो कहिल्यै एक आपसमा टाँसिएर रहन सक्दैन । जुनचाहिँ अन्तमा रोमी साम्राज्यमा हुन गयो । सालिकमा भएको खुट्टाको दश वटा औंलाहरूले दश अलग-अलग राज्यहरूको संकेत गर्दछ । जुन बारबेरियन राज्यको आक्रमणद्वारा रोमी साम्राज्य दश वटा राज्यहरू: एङग्‍लो सेक्सन (United Kingdom), फ्रान्कस (France), अलेमन्‍नी (Germany), लोम्बर्डस (Italy), बुर्गुन्डियन्स (Switzerland), सुइभी (Portugal), भिसिगोथ्स (Spain), हेरुलाई, भेण्डाल्स र अस्ट्रोगोथ्समा विभाजन हुनगयो । ती राज्यहरूलाई वर्तमान समयमा आधुनिक युरोपियन राज्यहरूले प्रतिनिधित्व गरिरहेका छन् ।

“त्यसरी नै तिनीहरू एक-अर्कासँग टाँसिनेछैनन् ।” दानिएल २:४३ । (KJV) शार्लमेन, चार्ल्स ५ औं, लुइस १४ औं, नेपोलियन र हिटलर सबैजनाले महान् युरोपियन साम्राज्य बनाउन कोशिश गरे तर असफल भए । गठबन्धनहरू र अन्तर्राष्‍ट्रिय विवाहहरूद्वारा पनि ती राज्यहरू एकभइ जोडिएर रहन सकेनन् । गवाहीको रूपमा तिनीहरूको निरन्तर राष्‍ट्रिय अविश्वास, ईर्ष्याहरू र युद्धहरू मुख्यकारण बनेका छन् । १५ सय वर्षपछि आजसम्म पनि ती राज्यहरू एक आपसमा अलग भइरहेका छन् । यदि युरोपियन एकताको निम्ति अहिले पनि प्रयास गरियो भने बाइबलको भविष्यवाणी अनुसार ती राज्यहरू एकहुन असफल हुनेछन् । सालिकलाई चकनाचुर पार्ने ढुङ्गाले (दानिएल २:४४-४५) येशू ख्रीष्‍टको आउँदै गरेको राज्यको संकेत गर्दछ । यो एक विश्वव्यापी राज्य हुनेछ । पूरा हुँदै गरेको भविष्यवाणीहरू र चिन्हहरूले त्यो महान् राज्य नजिकै छ भनी हरेकमाथि ठूलो स्वरमा घोषणा गरिरहेका छन् ।

बेबिलोनको भविष्यवाणीको इतिहासलाई कुनै इतिहासको पुस्तकले पुष्‍टि गर्नुपूर्व नै बाइबलले ठीकसित त्यसको इतिहासको अभिलेख राखिसकेको थियो । हामीले येशूको दोस्रो आगमनको भविष्यवाणी पनि त्यसरी नै पूरा हुनेछ भनी विश्वास गर्न सक्छौं ।

अर्को
previous
chat