bookइतिहासका अन्तिम पानाहरू
परमेश्वरको व्यवस्था
प्रस्थान २०:३-१७

परमेश्वरको व्यवस्था

परमेश्वरले दिनुभएको

म बाहेक अरू कुनै देवी देवताहरू नमान्‍नू ।

आफ्‍नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ । मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु ।

परमप्रभु आफ्‍ना परमेश्वरको नाम व्यर्थैमा नलिनू, किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुने छैन ।

शबाथ दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू । छ दिनसम्म परिश्रम गरेर आफ्‍नो सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ दिन हो । त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस् । किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो । त्यसकारण परमप्रभुले शबाथ दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो ।

आफ्‍ना बुवा र आमालाई आदार गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस् ।

सहत्या नगर्नू ।

व्यभिचार नगर्नू ।

चोरी नगर्नू ।

आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू ।

आफ्‍नो छिमेकीका घरको लालच नगर्नू । आफ्‍नो छिमेकीको पत्‍नीको लालच नगर्नू आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनैपनि थोकको लालच नगर्नू ।

परमेश्वरको नैतिक व्यवस्था, दश आज्ञा उहाँको चरित्रको वास्तविक प्रतिबिम्ब हो । यसभित्र भएका सिद्धान्तहरू परिस्थिति अनुरूप र अस्थायी नभई अपरिवर्तनीय, स्थायी र अनन्त छन् । दश आज्ञाले परमेश्वरको चरित्र र प्रेमलाई प्रस्तुत गरेझैँ यसले मानवजातिको लागि परमेश्वरको इच्छा र उद्देश्यलाई पनि प्रकट गर्दछ ।

परमेश्वरले मानिसलाई सृष्‍टि गर्नुभन्दा पहिला नै उहाँको व्यवस्था थियो । स्वर्गदूतहरू यही व्यवस्थाद्वारा सञ्चालित हुन्थे । ब्रह्माण्डमा भएका अरू संसारहरूमाथि परमेश्वरले उहाँको यही व्यवस्थाद्वारा नै शासन गर्नु हुन्थ्यो । लुसिफरले परमेश्वरको शासन गर्ने व्यवस्थाको सिद्धान्तलाई उल्‍लंघन गरेको कारणले ऊ शैतान बन्‍न पुगेको थियो । परमेश्वरले आदम र हव्‍वालाई सृष्‍टि गर्नुहुँदा नै उहाँको नैतिक व्यवस्था तिनीहरूको हृदय र मस्तिष्कभित्र लेखिदिनुभएको थियो । साथै आफ्‍ना दूतहरूद्वारा पनि तिनीहरूलाई थाहा गराइएको थियो । आदम र हव्‍वाले परमेश्वरको व्यवस्था उल्‍लंघन गरी पापी बन्‍न पुगेका थिए । तिनीहरू पापमा फसेपछि पनि परमेश्वरले उहाँको व्यवस्थाको धार्मिक सिद्धान्तहरू परिवर्तन गर्नुभएन । व्यवस्थाबाट केही पनि हटाइएको छैन न त एउटा बिन्दु निकालिएको छ । शुरूमा व्यवस्था जस्तो थियो त्यस्तै युग-युग र अनन्तसम्म जारीरहने छ ।

दश आज्ञा परमेश्वरले मोशाद्वारा सिनै पर्वतमा पहिलो पटक दिइएको हो भनी धेरै मण्डलीहरूले प्रचार गरिरहेको पाईन्छ तर व्यवस्था त स्वर्गदेखि नै थियो । स्वर्गमा शैतान र तिनका दूतहरूले यसलाई उल्‍लंघन गरेका हुनाले तिनीहरू पापी बन्‍न पुगेका थिए । लुसिफर र तिनका दूतहरूका पापले परमेश्वरको व्यवस्था सृष्‍टिभन्दा पहिलादेखि नै थियो भन्‍ने प्रमाण दिन्छ । “स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्यायको दिनसम्मको निम्ति जकडिराख्‍नुभयो ।” २ पत्रुस २:४ । परमेश्वरको वचनले भन्दछ, “व्यवस्था भङ्ग नै पाप हो ।” १ यूहन्ना ३:४ । अब्रहामले यही व्यवस्था पालन गरेका थिए भनी बाइबलले भन्दछ । “किनभने अब्रहामले मेरो वचन पालन गऱ्यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गऱ्यो ।” उत्पत्ति २६:५ । यदि सिनै पर्वतमा मोशालाई व्यवस्था दिनुभन्दा अगाडि त्यहाँ परमेश्वरको व्यवस्था, दश आज्ञा थिएन भने अदाम र हव्‍वा कसरी पापी बन्‍न पुगे त ? किनकि परमेश्वरको वचनले यसो भन्दछ, “तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन ।” रोमी ४:१५ । यदि पाप छैन भने येशूको बलिदानको कुनै आवश्यक्ता पर्दैन ।

फेरि, येशू ख्रीष्‍ट जब क्रूसमा बलिदान हुनुभयो त्यसपछि व्यवस्था रद्द भयो अब इसाईहरूले व्यवस्था पालन गर्नु आवश्यक छैन भनी धेरै मण्डलीहरूले प्रचार गरिरहेका छन् तर यो बिल्कुलै गलत कुरा हो । यदि व्यवस्थालाई परिवर्तन तथा रद्द गर्न मिल्‍ने भए प्रभु येशू कलवरी क्रूसमा मर्नुपर्ने थिएन । व्यवस्था उल्‍लंघन पाप हो र पापको ज्यला मृत्यू हो भन्‍ने कुरा कलवरी क्रूसमा भएको परमेश्वरको निर्दोष पुत्रको मृत्यूले प्रमाणित गरेको छ । परमेश्वर मानिस भई बरू मर्न सक्‍नुभयो तर उहाँले आफ्‍नो वचन वा व्यवस्थालाई परिवर्तन गर्न सक्‍नुभएन । जब प्रभु येशू संसारमा आउनुभयो तब उहाँले यो वचन बोल्‍नुभयो, “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्झ । म ती रद्द गर्न होइन तर पूरा गर्न आएँ । किनभने साँच्‍चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्‍ने छैन ।” मत्ती ५:१७-१८ । पावलले पनि हामीलाई यही कुरा बताउँदछन्, “तब के हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने? कदाचित् होइन! बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्‍छौं ।” रोमी ३:३१ । परमेश्वको पुत्रको कलवरीको मृत्यूले केवल सारा पतित संसारको अगाडि मात्र नभई स्वर्ग र पतित नभएको संसारहरूको अगाडि व्यवस्था पवित्र, न्यायसँगत, सत्य र अटल छ भनी प्रमाणित गरेको छ ।

परमेश्वरको व्यवस्था, दश आज्ञाले पापलाई देखाउँछ । दश आज्ञाविना मानिसहरूले परमेश्वरको पवित्रता, तिनीहरूको आफ्‍नो दोष र तिनीहरूले गर्नुपर्ने पश्‍चात्तापलाई सफासँग देख्‍न सक्दैनन् । पावलले यसो भन्दछन्, “यदि व्यवस्था नभए मैले पाप थाहा पाउने थिइनँ, किनकि “तैंले लोभ नगर् ।” भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउने थिइनँ ।” रोमी ७:७ । मानिसहरूले आफ्‍नो वास्तविक अवस्था थाहा पाउन तिनीहरूको लागि व्यवस्थाले एउटा ऐनाको रूपमा काम गर्दछ । मानिसको आत्मिकी स्वरूपलाई यो व्यवस्थाको आत्मिकी ऐनाले स्पष्‍ट देखाउने काम गर्दछ । याकूब १:२३-२५ । जसले परमेश्वरको व्यवस्थामा हेर्छ उसले परमेश्वरको सिद्ध चरित्रको अगाडि आफ्‍नो दागले भरिएको फोहोर चरित्रलाई देख्‍छ । परमेश्वरको नैतिक व्यवस्थाले सारा संसार उहाँको सामु दोषी छ भनी देखाउँछ र सबैलाई उहाँको सामु जवाफदेही बनाउँछ । “अब हामी जान्दछौं, जे-जति व्यवस्थाले भन्छ, व्यवस्थामुनि हुनेहरूलाई नै भन्छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्वरको अगि जवाफदेही होस् ।” रोमी ३:१९ । जब हामीले आफ्‍नो साँचो चरित्रलाई देख्‍छौं तब हामीले थाहा पाउँछौं, कि हामी पापी हौं र मृत्युको डोरीले बाँधिएका छौं । त्यसबाट मुक्त हुनको लागि व्यवस्थाले मुक्तिदाताको आवश्यक्तालाई देखाउँछ । त्यसैले व्यवस्थाले हामीलाई ख्रीष्‍टसम्म डोऱ्याउँछ ताकि हामीले उहाँको सहायताद्वारा पाप र मृत्युको बन्धनदेखि स्वतन्‍‍त्रता पाओस् । “विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई ख्रीष्‍टसम्म डोऱ्याउने जिम्मा दिइयो ।” गलाती ३:२४ ।

बाइबलमा हामीले २ वटा व्यवस्थाहरू पाउँछौं । परमेश्वरको व्यवस्था र मोशाको व्यवस्था (दानिएल ९:११) । परमेश्वरको व्यवस्था अर्थात् दश आज्ञाचाहिँ अनन्त र अपरिवर्तनीय छ भने मोशाको व्यवस्थाचाहिँ केवल ख्रीष्‍टको कलवरीको क्रूसको बलिदान सम्मको लागि मात्रै कायम रहेको थियो । किनभने मोशाको व्यवस्थाले अर्थात् बलिदानको विधिले संसारको पाप उठाईलैजाने परमेश्वरको थुमा, येशू ख्रीष्‍टको साँचो बलिदानलाई प्रतिनिधित्व गर्दथ्यो । सयौं वर्ष पहिले नै मसीहको मृत्युद्वारा बलिदानको विधि समाप्‍त हुनेछ भनी दानिएल अगमवक्ताले अगमवाणी गरेका थिए (दानिएल ९:२७) । येशू ख्रीष्‍टको कलवरी क्रूसको बलिदानपछि मोशाको व्यवस्था जुनचाहिँ बलिदानको विधि हो त्यो समाप्‍त भएको छ ।

भविष्यवाणीले हामीलाई यो बताईरहेको छ, कि संसारको अन्तिम समयमा शैतानले अधिकांश मानिसहरूलाई परमेश्वरको व्यवस्था उल्‍लंघन गर्न अनाज्ञाकारीता तर्फ डोऱ्याउनेछ । “त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो ।” प्रकाश १२:९ । शैतानले जहिले पनि परमेश्वरको व्यवस्थालाई घृणा गर्छ । स्वर्गमा उसले यसको विरोध र उल्‍लंघन गरेको थियो । अदनको बगैंचामा पनि आदम र हव्‍वालाई परमेश्वरको व्यवस्था उल्‍लंघन गर्न बहकाएको थियो । दानिएलले देखेका चार वटा पशुहरूको दर्शनमा चौथो पशु जसको दश वटा सीङ थियो । त्यस मध्येबाट एउटा सानो सीङ आएको थियो । त्यही सानो सीङले नै परमेश्वरको व्यवस्थालाई परिवर्तन गर्नेछ भनी दानिएल ७:२५ मा भविष्यवाणी गरिएको थियो । त्यो सानो सीङचाहिँ पोपतन्‍‍त्र हो ।

भविष्यवाणी अनुरूप नै क्‍याथोलिक मण्डलीले परमेश्वरको व्यवस्था, दश आज्ञालाई परिवर्तन गरेको छ । क्‍याथोलिक मण्डलीले चौथो आज्ञा सातौं दिन शबाथलाई हप्‍तको पहिलो दिनमा, सूर्यको पूजा गर्ने दिनमा सारेको छ । त्यसले मानिसहरूलाई झूटो शबाथ मान्‍न सिकाएको छ । पृथ्वीको अन्तिम लडाईं नै सातौं दिन शनिवार साँचो शबाथ र आईतवार झूटो शबाथ बीच हुनेछ । हरेक मानिसहरू जाँचिनेछन् । आज्ञाकारी हुने वा अनाज्ञाकारी हुने भन्‍ने प्रश्‍नमा सम्पूर्ण संसारद्वारा निर्णय गरिनेछ । परमेश्वरको व्यवस्था र मानिसको कानूनको बीचमा एकलाई सबैले छान्‍नुपर्ने हुन्छ । यो विषयमा सारा इसाई जगत दुई वटा मूख्य वर्गमा विभाजित हुनेछ । “शबाथचाहिँ वफादारीताको ठूलो जाँच हुनेछ किनभने सत्यताको यो तथ्य विवादास्पद छ । विशेषरूपले जब मानिसहरूलाई भोग्‍नको निम्ति अन्तिम जाँच ल्याइनेछ, तब परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेहरू चिनिनेछन् । जब एउटा वर्गले पृथ्वीको अधिकारप्रति समर्पणताको चिन्ह स्वरूप उक्त पशुको छाप ग्रहण गर्नेछ, तब अर्को वर्गले ईश्वरीय अधिकारप्रति भक्तिको मार्ग छान्दै, परमेश्वरको छाप ग्रहण गर्नेछ ।” महान् विवाद ६०५

येशू खीष्‍टको दोस्रो आगमनसम्मै परमेश्वरको व्यवस्थामाथि शैतानको हमलाले यो प्रमाणित हुन्छ, कि मुक्तिको योजनामा अझै परमेश्वरको व्यवस्थाको उल्‍लेखनीय भूमिका रहेको छ । ख्रीष्‍टको आगमनलाई पर्खिरहने परमेश्वरका जनहरूले उहाँको व्यवस्थालाई पूर्णरूपमा पालन गर्नुपर्ने हुन्छ । “जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन् ।” प्रकाश १२:१७ । व्यवस्थाको पालनद्वारा मानिसले मुक्ति कमाउन सक्दैन ।

आज्ञापालन ख्रीष्‍टमा मुक्तिको फल हो तर ख्रीष्‍टलाई स्वीकार गर्ने कसैले पनि व्यवस्था उल्‍लंघन गर्दैन ।

तिनीहरूले परमेश्वरको इच्छा के हो सो बुझ्छन् र त्यो पूरा गर्न आनन्दित हुन्छन् जसरी ख्रीष्‍ट पनि परमेश्वरको इच्छा पूरा गर्न आनन्दित हुनुहुन्थ्यो । “हे परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ ।” भजनसंग्रह ४०:८ । त्यसकारण ख्रीष्‍ट मानिसहरूलाई बचाउन मात्रै आउनुभएन तर परमेश्वरको व्यवस्थाको ऐश्वर्यता र पवित्रतालाई प्रमाणित गर्न आउनुभयो । ख्रीष्‍टचाहिँ सबै कुराहरूमा हाम्रो उदाहरण हुनुहुन्छ । उहाँलाई विश्वास गर्ने हरेकले तिनीहरूको आफ्‍नो जीवनद्वारा परमेश्वरको व्यवस्थाको विशालतालाई प्रकट गरोस् भनी उहाँले बोलाउनु भएको छ ।

जब अनन्त जीवन पाउन मैले के गर्नुपर्छ भनी धनी युवकले प्रभु येशूलाई सोधेको थियो तब उहाँले यो उत्तर दिनुभयो “तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर ।” मत्ती १९:१७ । व्यवस्था उल्‍लंघन गर्ने कोहीपनि स्वर्ग जान पाउने छैनन् भनी उहाँले यसरी चेतावनी दिइसक्‍नुभएको छ, “मलाई प्रभु, प्रभु भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।” मत्ती ७:२१ । हामीले मुक्ति पाउने उद्देश्यले व्यवस्था पालन गर्नुहुँदैन तर मुक्ति पाएको कारणले हुनुपर्दछ । हामीले गरेको आज्ञापालनद्वारा हामीले मुक्ति कमाउन सक्दैनौं तर हामी क्रूसमा आइसकेपछिको आज्ञापालनचाहिँ हामीले पाएको मुक्तिको प्रमाण हो ।

परमेश्वरको व्यवस्था पालन गर्नेहरूमाथि उहाँको वचनमा परमेश्वरले यसरी आशिषको प्रतिज्ञा गर्नुभएको छ, “धन्यका हुन् तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछन् ।” भजनसंग्रह ११९:१, र जसको “आनान्द परमप्रभुको व्यवस्थामा हुँदछ, र उहाँकै व्यवस्थामा दिनरात मनन गर्दछ ।” भजनसंग्रह १:२ । तिनीहरूले बुद्धि प्राप्‍त गर्नेछन् (भजनसंग्रह ११९:९८), शान्ति र धार्मिकता प्राप्‍त गर्नेछन् (भजनसंग्रह ११९:१६५; यशैया ४८:१८), शुद्ध र नैतिक जीवन प्राप्‍त गर्नेछन् (हितोपदेश ७:१-५), रोगहरूदेखि सुरक्षा प्राप्‍त गर्नेछन् (प्रस्थान १५:२६), परमेश्वरले प्रार्थना सुन्‍नुहुनेछ भनी निश्‍चयता प्राप्‍त गर्नेछन् (१ यूहन्‍ना ३:२२) ।

पोपद्वारा परिवर्तन गरिएको

म तेरो परमेश्वर यहोवा हुँ । मलाई छोडेर कुनै अन्‍जान देवतालाई ईश्वर भनेर नमान्‍नू ।

तैंले आफ्‍नो परमेश्वरको नाउँ व्यर्थमा नलिनू ।

तैंले विश्राम दिनलाई पवित्र मान्‍नलाई सम्झिनू ।

तैंले आमा बुबाको आदर गर्नू ।

तैंले हत्या नगर्नू ।

तैंले व्यभिचार नगर्नू ।

तैंले चोरी नगर्नू ।

तैंले आफ्‍नो छिमेकीको विरुद्धमा झूटा साक्षी नदिनू ।

तैंले आफ्‍नो छिमेकीको स्वास्‍नीको लालच नगर्नू ।

तैंले आफ्‍नो छिमेकीको कुनै कुराका लालच नगर्नू । याद गर्नुहोस् परमेश्वरको व्यवस्थाबाट क्‍याथोलिक मण्डलीले दोस्रो आज्ञालाई हटाइदिएको छ, चौथो आज्ञालाई बदली गरेको छ र दशौँ आज्ञालाई दुई भाग गरी दश आज्ञा बनाएको छ ।

previous
अघिल्लो
अर्को
previous
chat