bookइतिहासका अन्तिम पानाहरू
एक हजार वर्ष

एक हजार वर्ष

येशू ख्रीष्‍टको दोस्रो आगमनभन्दा केवल केही समय अगाडि शैतान स्वयम् येशू ख्रीष्‍ट बनेर आउनेछ । येशूको दोस्रो आगमन भयो भनेर पत्रपत्रिका, अखबार, रेडियो, टिभी, इन्टरनेटबाट प्रचार प्रसार हुनेछ । येशू ख्रीष्‍ट आउनुभयो ! येशू ख्रीष्‍ट आउनुभयो ! भन्‍ने खबर सारा पृथ्वीमा फैलिनेछ । “छलको महानाटकमा प्रमुख नायकको रूपमा शैतान आफैं ख्रीष्‍टको रूप धारण गरेर आउनेछ । चर्चले त्यसका आशाहरूका पूर्णताको रूपमा लामो समयदेखि मुक्तिदाताको आगमनलाई प्रतिक्षा गरेको दावी गरेको छ । अब महाधोकेबाजले ख्रीष्‍ट आएको नक्‍कल गर्नेछ । पृथ्वीका विभिन्‍न भागहरूमा शैतानले तिरमिराउने चमकको ऐश्वर्यतामा मानिसहरूका माझमा आफैंलाई प्रकट गर्नेछ । त्यो प्रकाश १:१३-१५ पदहरूमा यूहन्‍नाले गरेको परमेश्वरको पुत्रको वर्णन अनुरूप आउनेछ । मरणशील आँखाहरूले कहिल्यै पनि नदेखेको महिमाले त्यसलाई वरिपरि घेरेको हुनेछ । मानिसहरूले त्यसलाई सास्टाङ्ग दण्डवत् गर्नेछन् । येशू ख्रीष्‍ट संसारमा हुनुहुँदा उहाँका चेलाहरूलाई उहाँले जसरी आशिष दिनुहुन्थ्यो, त्यसरी नै त्यस नक्‍कली ख्रीष्‍टले पनि आफ्‍नो हात उचालेर तिनीहरूमाथि आशिष दिनेछ । उसको स्वर नरम, धीमा र अझै सुमधुर हुनेछ । उसले मानिसहरूको रोगहरू निको पार्नेछ । येशूको चरित्र नक्‍कल गरी शबाथलाई आइतवारमा परिवर्तन गरेर आशिष दिएको दाबी गर्नेछ र सबैलाई उसले आशिषित पारेको दिनलाई पवित्र राख्‍ने आज्ञा दिनेछ ।” (महान् विवाद पेज ६२४ अनुच्छेद २) ।

विश्वका प्रमुख ठूला धर्महरूका अनुयायीहरूले त्यस नक्‍कली ख्रीष्‍टलाई आ-आफ्‍ना उद्धारकर्ताको रूपमा स्वीकार गर्नेछन् । शैतान अब, मुस्लिमहरूकहाँ “मादी” बनेर, यहूदीहरूकहाँ “मसीह” बनेर, बुद्धिष्‍टहरूकहाँ “मैत्री” बनेर, हिन्दुहरूकहाँ बिष्णुको अन्तिम अवतार “कल्कि अवतार” बनेर र इसाईहरूकहाँ “ख्रीष्‍ट” बनेर प्रकट हुनेछ । सारा पृथ्वीका मानिसहरूलाई त्यो महाधोकेबाजले भ्रममा पार्न सफल हुनेछ तर त्यहाँ शैतानको त्यो अन्तिम महाछलले छक्‍याउन नसक्‍ने परमेश्वरको आज्ञाकारी एउटा सानो समूह हुनेछ । जसले त्यस महाधोकेबाजलाई झूटा ख्रीष्‍ट हो भनी दाबी गर्नेछ । त्यसबेला शैतानको छलमा परेका मानिसहरूले त्यो सानो झुण्डलाई खेदो गर्नेछन् ।

येशूको दोस्रो आगमनमा येशूले पृथ्वीमा पाइला टेक्‍नुहुनेछैन किनकि उहाँ बादलमै रहनुहुनेछ र आफ्‍ना दूतहरूलाई पृथ्वीमा पठाउनुहुनेछ । के तपाईं पनि शैतानको त्यस अन्तिम ठूलो छलदेखि बच्‍न चाहनुहुन्छ? त्यसो भए तलका ४ बुँदाहरूलाई राम्रोसँग पढेर हरपल आफ्‍नो हृदय र मस्तिष्कमा राख्‍नुहोस् ।

१) ख्रीष्‍टको दोस्रो आगमनमा पृथ्वीमा भएका सबै जीवितहरूले ख्रीष्‍टलाई देख्‍नेछन् (प्रकाश १:७; प्रेरित १:९—११; मत्ती २४:२३-२७, ३०) । २) हरेक जीवितहरूले उहाँको आगमनको स्वर सुन्‍नेछन् (मत्ती २४:३१; १ थेसलोनिकी ४:१६) । ३) आफ्‍नो पिताको महिमामा, आफ्‍नै महिमामा र करोडौं स्वर्गदूतहरूको महिमामा आउनुहुनेछ (लूका ९:२६; २५:३१; प्रकाश ६:१४-१७) । ४) जागा नरहनेहरूका निम्ति उहाँ चोरझैँ वा नचिताएको बेलामा आउनुहुनेछ (मत्ती २४:३६, ४४) । तर जागा रहनेहरूलाई चोरलेझैँ चकित पार्नुहुनेछैन । (१ थेसलोनिकी ५:१, ४-६)

एक हजार वर्षको शुरूआतको घटनाहरू

एक हजार वर्षको समय येशू ख्रीष्‍टको दोस्रो आगमनसँगै शुरू हुनेछ त्यस समयमा ६वटा महत्त्वपूर्ण घटनाहरू घट्‍नेछन्।

१) आदमदेखि येशूको दोस्रो आगमनसम्मका ख्रीष्‍टमा मरेकाहरूसबैलाई उहाँले बौरी उठाउनुहुनेछ । ख्रीष्‍टमा मरेकाहरू भनेको येशूको बलिदानलाई स्वीकार गरी आफ्‍ना पापको क्षमा पाएकाहरू हुन् । यो पहिलो पुनरुत्थान हो । पहिलो पुनरुत्थान हुनेहरूलाई दास्रो मृत्युले छुदैन (१ थेसलोनीकी ४:१६) । “पृथ्वीको उथलपुथल, बिजुलीको चमक, चट्‌याङ्गको गर्जनको बीचमा परमेश्वरको पुत्रको सोरले सुतिरहेका सन्तहरूलाई बाहिर बोलाउँछ । उहाँले धर्मीहरूको चिहानतर्फ हेर्नुहुन्छ र उहाँका हातहरू स्वर्गतिर उठाउनु भएपछि उहाँ यसरी कराउनुहुन्छ: ‘उठ, उठ, उठ, तिमीहरू जो धुलोमा सुतिगएका छौ, र खडा होओ!’ पृथ्वीभरिका लम्बाइ र चौडाइका मृतकहरूले त्यो सोर सुन्‍नेछन्, र जसले सुन्छ त्यो जिउनेछ ।” महान् विवाद ६४४

२) येशूले धर्मीजनहरूको शरीरलाई उहाँको आफ्‍नै महिमित शरीरजस्तै परिवर्तन गर्नुहुनेछ (फिलिप्पी ३:२०-२१; १ कोरिन्थी १५:५१-५३) । येशूको रगतद्वारा पापमाथि विजयी भएकोले तिनीहरूले अमरत्व प्राप्‍त गर्नेछन् । “उहाँले हाम्रा मूल्यहीन शरीरहरू परिवर्तन गर्नुहुन्छ र तिनीहरूलाई उहाँको महिमित शरीरजस्तै बनाउनुहुन्छ । पहिले पापले दूषित भएको अवस्थामा मरणशील, विनाशी आकार, कुरूपता थियो, अब पूर्णता, सुन्दर, अमरत्व धारण गरेको हुन्छ । सबै खोटहरू र कुरूपताहरू चिहानमा छोडिएका छन् ।” महान् विवाद ६४४

३) येशूको दोस्रो आगमनसम्म बाँचिरहेका जीवित धर्मीजन अर्थात् पापको क्षमा पाई निर्दोष र दागरहित भएर येशूको आगमनलाई पर्खिरहेका जीवित धर्मी मानिसहरू र पुनरुत्थान भएका धर्मीजनहरूलाई स्वर्गदूतहरूले उठाएर बादलमा येशूलाई भेट्‍न लैजानेछन् । यी दुबै समूहले एकैसमयमा प्रभु येशूलाई आकाशमा भेट्‍नेछन् (१ थेसलोनिकी ४:१७) ।

४) उहाँले सबै धर्मीजनहरूलाई पृथ्वीको चारै दिशाबाट बटुल्‍न स्वर्गदूतहरूलाई पठाउनुहुनेछ । पवित्र स्वर्गदूतहरूले साना नानीबाबुहरूलाई बोकेर तिनीहरूका आमाहरूका हातहरूमा ल्याइदिनेछन् । मृत्युद्वारा लामो समयसम्म विच्छेद भएका साथीहरू भेला हुनेछन् र फेरि कहिले पनि अलग हुनेछैनन् (१ थेसलोनिकी ४:१७-१८; मत्ती २४:३०-३१) । र हर्षपनको गीतकासाथ परमेश्वरको शहरमा उठाइलगिनेछन् (यूहन्ना १४:१-३; १ थेसलोनिकी ४:१६-१८) ।

५) उहाँको आगमनको प्रकाशद्वारा जीवित सबै पापीहरूलाई नाश गर्नुहुनेछ किनभने तिनीहरूले परमेश्वरको अनुग्रहलाई लत्याएका थिए अनि परमेश्वर र उहाँका जनहरूमाथि ठट्टा गरेका थिए । दुष्‍टहरू सारा पृथ्वीको सतहबाट नष्‍ट हुनेछन् । उहाँको मुखको सासद्वारा भष्म गरिनेछन् र उहाँको महिमाको उज्‍ज्वलताले नष्‍ट हुनेछन् । सारा पृथ्वी उजाड मरुभूमिझैँ हुनेछ (लूका १७:२६-३०; २ थेसलोनिकी २:८) ।

६) उहाँले शैतानलाई उजाड भएको पृथ्वीमा एक हजार वर्षसम्म बाँधेर राख्‍नुहुनेछ । शैतान नै पापको सृष्‍टिकर्ता थियो । उसको छलद्वारा सबै मानिसहरूलाई उसले पापमा फसाएको थियो । त्यसकारण ऊ सबैको पापको मूख्य दोषी हुनेछ । प्रभु येशूले स्वर्गको महापवित्र स्थानबाट सबै परमेश्वरका धर्मीजनहरूको पापलाई लिएर शैतानमाथि खन्याउनु हुनेछ। त्यसपछि उहाँले शैतानलाई उजाड, शून्य र निर्जीव स्थान बनेको सुनसान पृथ्वीमा छाडिदिनुहुनेछ । जसरी छाडा छोडिने बोका निर्जन उजाड भूमिमा लगिन्थ्यो (लेवी १६:८-१०, 20-22) त्यसरी नै शैतान पनि उजाड र निर्जन पृथ्वीमा बहिष्कृत गरिनेछ । त्यो समय शैतानको निम्ति उसले गरेका सबै कुकर्महरू र त्यसको परिणामको बारेमा सोच्‍ने समय हुनेछ (प्रकाश २०:२-३) ।

“त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो साङ्‍लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखें । तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे ।”प्रकाश २०:१-२

एक हजार वर्षको अवधिका घटनाहरू

१) हजार वर्षभरि पृथ्वीमा कोही मानिस हुनेछैनन् किनकि त्यसबेलामा सबै धर्मीजनहरू स्वर्गमा हुनेछन् र सबै पापीहरू मरेका हुनेछन् । प्रभु येशूको दोस्रो आगमनमा सबै पापीहरूलाई विनाश पारेकोले पृथ्वीमा त्यस समय अवधिभरि कोही मानिस हुनेछैनन् (२ थेसलोनिकी २:८) ।

२) पृथ्वीमा शैतान र उसका दूतहरू बाहेक कोही बाँकी रहनेछैनन् । शून्य र अन्धकार पृथ्वीमा शैतान र उसका दूतहरू हुनेछन् ताकि एक हजार वर्ष नबितिञ्‍जेल कसैलाई बहकाउन नपाऊन् (यशैया २४:२०-२२; यर्मिया ४:२५-२६; २५:३१-३३) ।

३) एक हजार वर्षभरि पृथ्वी उजाड हुनेछ । सारा पृथ्वी उजाड मरुभूमिझैँ हुनेछ । पृथ्वी कुनै प्राणी बस्‍न लायक हुँदैन । यो अन्धकार र निर्जन ठाउँ हुनेछ (प्रकाश २०:३; यर्मिया ४:२३-२६; यशैेया २४:१-३) ।

४) एक हजार वर्षभरि शैतानलाई पृथ्वीमा बाँधेर राखिनेछ (प्रकाश २०:१-३) । शैतानलाई बाँधेर राख्‍नुको अर्थ पृथ्वीमा कोही मानिस नभएको हुनाले उसले कसैलाई बहकाउन नपाउनु हो, र अन्य पतन नभएको संसारहरूमा परीक्षा गर्न र दु:ख दिन जान नपाउनु हो । शैतान र त्यसका दुष्‍ट दूतहरूको निवासस्थान एक हजार वर्षसम्म यहीँ नै हुनेछ । ऊ पृथ्वीमा कैदी सरह हुनेछ ।

५) शैतानले छ हजार वर्षसम्म परमेश्वरका जनहरूलाई उसको कारागारमा कैदी बनाइ राखेको थियो तर ख्रीष्‍टले उसको बन्धनलाई तोडेर सदासर्वदाका लागि आफ्‍ना कैदी जनहरूलाई स्वतन्‍‍त्रता दिनुहुनेछ । मृत्युद्वारा वर्षौंदेखि विछोड हुन पुगेका आफन्तहरूको अनन्त सम्मको लागि पुनर्मिलन हुनेछ । महिमाका राजाले तिनीहरूका मुहारबाट आँसु पुछिदिनु हुनेछ । वेदनाको प्रत्येक कारण हटाइदिनुहुनेछ । उद्धार पाएकाहरू सबै स्वर्गमा परमेश्वरको साथमा हुनेछन् । हर्ष र उमङ्गसाथ प्रशंसाको गीतले परमेश्वरको महिमा गर्नेछन् (प्रकाश २०:४, ६; दानिएल ७:२२) ।

६) पहिलो र दोस्रो पुनरुत्थानको बीचमा दुष्‍टहरूको इन्साफ हुनेछ । उद्धार पाएकाहरू सबै स्वर्गमा इन्साफको कार्यमा व्यस्त हुनेछन् । अनन्त जीवन गुमाएका सबै पापीहरूको र शैतान तथा तिनका दूतहरूको, उद्धार पाएका जनहरूले इन्साफ गर्नेछन् । यो इन्साफ भनेको उद्धार पाउने र नपाउने भन्‍ने कुराको होइन तर ती व्यक्तिहरूले कसरी अनन्त जीवन गुमाउन पुगे भनी तिनीहरूको अभिलेख हेर्ने हो जुनचाहिँ मृत्युको पुस्तक हो । प्रभु येशूले तिनीहरूसबैको अभिलेखहरू खोलेर सन्तहरूलाई हेर्न दिनुहुनेछ । शैतान र तिनका दूतहरूको पनि । (प्रकाश २०:४; १ कोरिन्थी ४:५; ६:१-३; पे्ररित २४:२५; यहुदा ६) ।

एक हजार वर्षपछिका घटनाहरू

१) एक हजार वर्षको अन्त्यमा पवित्र शहर नयाँ यरूशलेम स्वर्गबाट तल पृथ्वीमा झारिनेछ । उद्धार पाएका सबै सन्तहरू त्यसभित्र हुनेछन् । त्यो नयाँ यरूशलेम महिमित नयाँ पृथ्वीको राजधानी हुनेछ । त्यहाँ कहिल्यै रात हुनेछैन । त्यहाँ कसैलाई विश्रामको आवश्यक्ता पर्नेछैन किनभने त्यहाँ कोही थकित हुनेछैन । उद्धार पाएका सबै पवित्र जनहरूले त्यहाँ सदासर्वदा ताजापन महसूस गर्नेछन् (प्रकाश २०:९; २१:१-५; जकरिया १४:४, ९) ।

२) उद्धार पाएर स्वर्ग गएका सबै सन्तहरू र प्रभु येशू नयाँ यरूशलेम सहित एक हजार वर्षपछि जब पृथ्वीमा आउनु हुनेछ तब उहाँले सबै पापी मृतकहरूलाई बौरी उठाउनु हुनेछ । यो दोस्रो पुनरुत्थान हो । यी पापी मानिसहरूलाई केवल तिनीहरूले गरेका पापकर्महरूको दण्ड दिनको निम्ति मात्रै बौरी उठाउनेछन् (प्रकाश २०:५) ।

३) उजाड भएको अन्धकार पृथ्वीमा बाँधेर राखिएको शैतानलाई एक हजार वर्षको अन्त्यमा फुकुवा गरिनेछ । त्यसको अर्थ यो हो, कि मृतकबाट बौरी उठाइएका पापीहरू जोचाहिँ समुद्रको बालुवासरी हुनेछन् तिनीहरूलाई फेरि एक पटक शैतानले परमेश्वरको विरुद्ध बहकाउन पाउनेछ । आरमागेडनको त्यस अन्तिम युद्धको निम्ति शैतानले सबै पापीहरूलाई भेला गर्नेछ (प्रकाश २०:७, ८) ।

४) शैतानले फेरि एक पटक बौरी उठाइएका पापीहरूलाई परमेश्वरसँग युद्ध गर्न बहकाउनेछ । शैतान, तिनका दूतहरू र पापी मानिसहरूले नयाँ यरूशलेमलाई कब्जा गर्न घेर्नेछन् । तिनीहरूले नयाँ यरूशलेमलाई खोस्‍ने दुष्साहस गर्नेछन् (प्रकाश २०:८, ९) । तर परमेश्वरले दुष्‍टहरूमाथि स्वर्गबाट आगो र गन्धक वर्षाउनुहुनेछ । भष्म पार्ने ज्वालाहरू पृथ्वीको गहिराइबाट विस्फोटन हुनेछन् । दुष्‍टहरूले तिनीहरूको कुकर्मको प्रतिफल पृथ्वीमै प्राप्‍त गर्नेछन् (हितोपदेश ११:३१) । पृथ्वी भट्टीझैँ दन्कनेछ । पापीहरू ठुटाझैँ हुनेछन् र जलेर भष्म हुनेछन् (मलाकी ४:१; प्रकाश २०:९) ।

तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए । समुद्र त अब छँदै थिएन। प्रकाश २१:१

5) ६ हजार वर्षदेखिको महान् विवाद जुनचाहिँ येशू र शैतान बीच चल्दैआइरहेको थियो त्यो समाप्‍त हुनेछ । त्यहाँ पाप र पापी दुवै हुनेछैनन् । उहाँले सारा ब्रम्हाण्ड शुद्ध पार्नुहुनेछ । पापले दूषित भएको र पापको श्रापले कुरूप बनेको पृथ्वीलाई फेरि नयाँगरी सृष्‍टि गर्नुहुनेछ । त्यहाँ फेरि कहिल्यै श्राप पर्नेछैन । उहाँले अघि-अघिका सबै तिता कुराहरूलाई मेटाइदिनुहुनेछ, र ती मनबाट हटाइदिनुहुनेछ । त्यहाँ रुवाइ र कराइको आवाज फेरि कहिल्यै सुनिनेछैन । (प्रकाश २१:१-५; २ पत्रुस ३:१३; यशैया ६५:१७-१९) ।

6) परमेश्वरका जनहरू नयाँ पृथ्वीमा खुशीसाथ अनन्तसम्म येशूको साथमै रहनेछन् । सबैजनामा मेल र सहमतिको एक धडकन हुनेछ । त्यहाँ जीवन र ज्योति तथा आनन्द बहनेछ । अन्धाहरूका आँखा खोलिनेछन्, बहिराहरूका कान उघारिनेछन्, र लाटाहरूले परमेश्वरको प्रशंसाको गीत गाउँनेछन् । त्यहाँ फेरि शोक, पीडा र मृत्यु कहिल्यै हुनेछैन (यशैया ३५:५-७, ९-१०; प्रकाश २१:२-४) । “मरुभूमि र निर्जल-भूमि हर्षित हुनेछन् । उजाड-स्थान रमाउनेछ र फुल्‍नेछ केशरझैँ त्यो फुलेर फक्रनेछ । यो अत्यन्त प्रफुल्‍लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ ।” यशैया ३५:१-२ । त्यहाँ सदासर्वदा धार्मिकताले वास गर्नेछ । त्यो शान्तिको वासस्थान, सुरक्षित घर, हो-हल्‍ला, त्रासरहित र विश्रामस्थल हुनेछ (यशैया ३१:१७-१८) । परमेश्वरको शान्तिको त्यस पर्वतमा कसैले कसैलाई हानि पुऱ्याउनेछैनन् । तिनीहरूले घरहरू बनाएर तिनमा अरूहरू बस्‍ने र तिनीहरूले रोपेर अरूहरूले खाने कहिल्यै हुनेछैन । ब्वाँसो र थुमा, र चितुवा र पाठा एकसाथ ढल्केर बस्‍नेछन् (यशैया ११:६-९) । त्यहाँ कुनै मन्दिर हुनेछैन किनकि परमेश्वरको वासस्थान त्यहाँ हुनेछ । उहाँ आफैं मानिसहरूसँग रहनुहुनेछ । इम्मानुएल, “परमेश्वर हामीसँग” ।

अहा ! कति राम्रो कुरा । र परमेश्वरको योजना कति उत्तम । शान्ति र आनन्दमय अनन्तको संसारमा हामीलाई असीम प्रेम गर्नुहुने परमेश्वरको साथमा अननत जीवन जिउन पाउनु हाम्रो निम्ति कति सौभाग्यको कुरा हो । साँच्‍चै, यो कुनै काल्पनिक कुरा नभई परमेश्वरको योजना र हरेक मानिसको निम्ति ठूलो अवसर हो । के तपाईं यस्तो स्वर्गमय संसारमा अनन्त जीवन जिउन चाहनु हुन्‍न र ? यो केवल कुनै धर्मविशेष वा सम्प्रादयका मानिसहरूलाई मात्रै होइन तर सारा संसारमा रहेका हरेक मानिसलाई परमेश्वरबाटको योजना र आशिष हो । त्यसकारण म तपाईंलाई यो विनम्र अनुरोध गर्न चाहन्छु, कि यस्तो अवसरलाई नगुमाउनुहोस् । सृष्‍टिकर्ता परमेश्वरले पठाउनुभएको उहाँको पुत्र, हाम्रो मुक्तिदाता येशूलाई विश्वास गर्नुहोस् किनभने सारा पापी मानिसलाई पापबाट मुक्त गर्न उहाँले कलवरी क्रूसमा आफ्‍नो प्राणको बलिदान दिनुभयो । येशूको दोस्रो आगमनमा उहाँलाई विश्वास गर्ने सबैले अनन्त जीवन प्राप्‍त गर्नेछन् । येशू ख्रीष्‍टविनाको जीवन मृत वा श्रापित जीवन हो । “जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन ।” १ यूहन्ना ५:१२ । किनभने सबै मानिसमा पापको कारण मृत्युको श्राप परेको छ । तर प्रभु येशूमा अनन्त जीवनको आशिष रहेको छ । उहाँ जीवनको स्रोत हुनुहुन्छ । त्यसकारण उहाँले भन्‍नुभयो “पुनरुत्थान र जीवन म नै हुँ । मलाई विश्वास गर्ने मऱ्यो भने पनि जीवित हुनेछ ।” यूहन्‍ना ११:२५ । येशूलाई विश्वस गरी आफ्‍नो पापको क्षमा पाएर ख्रीष्‍टमा मरेकाहरू उहाँको दोस्रो आगमनमा अनन्त जीवनको आशिषकासाथ बौरीउठ्‍नेछन् । तिनीहरूको मरणशील शरीरले अमरत्व प्राप्‍त गर्नेछ ।

येशू फेरि चाँडै आउँदै हुनुहुन्छ । उहाँ कुन दिन र कुन घडी आउनु हुन्छ भनी कसैलाई थाहा नभए पनि हाम्रा वरिपरि घटिरहेका भविष्यवाणीका संकेत र घटनाहरूले येशू छिट्टै आउँदै हुनुहुन्छ भनी बताइरहेका छन् । यदि येशू दुई चार वर्षभित्रमै आउनु भएन भने पनि हामी त्यस बेलासम्म जीवितै रहन्छौं भन्‍ने निश्‍चयता छैन । आजको दिन नै हाम्रो जीवनको अन्तिम दिन पनि हुन सक्दछ । यदि जीवित छँदै हामीले हाम्रो पापको क्षमा पाउन सकेनौं भने मृत्युपछि त्यहाँ कुनै अवसर पाउनेछैनौं र तपाईंले अनन्त जीवन गुमाउनु हुनेछ । त्यसकारण आज नै येशूलाई विश्वास गर्नुहोस् । उहाँ कति भला हुनुहुन्छ, उहाँलाई जाँचेर हेर्नुहोस् । उहाँ तपाईंको हृदयभित्र वास गर्न चाहनुहुन्छ । तपाईंको जीवनलाई परिवर्तन गरी तपाईंलाई शान्ति र आनन्द दिन चाहनुहुन्छ । त्यसैले उहाँ तपाईंको हृदयको ढोका ढकढक्‍याइ रहनुभएको छ । आफ्‍नो हृदयको ढोका खोल्‍नुहोस् र उहाँलाई आफूभित्र आउन दिनुहोस् । परमेश्वरलाई यसरी प्रार्थना गर्नुहोस्, हे परमेश्वर पिता तपाईंलाई सम्पूर्ण थोकको निम्ति र येशू प्रभुको वलिदानको निम्ति धन्यवाद छ । म पापीलाई क्षमा गर्नुहोस् । मलाई पूर्णरूपले तपाईंकै जनको रूपमा ग्रहण गर्नुहोस् । मलाई आज तपाईंकै सेवामा प्रयोग गर्नुहोस् । पवित्र आत्माद्वारा तपाईं ममा वास गर्नुहोस् र मलाई बचाउनुहोस् । यही मेरो विन्ती छ येशू प्रभुको नाममा अमेन ।

परमेश्वरले सबैलाई आशिष दिनुभएको होस् ।

previous
अघिल्लो
chat