bookइतिहासका अन्तिम पानाहरू
सानो सीङ
दानिएल ८:९-१२, २३-२५

सानो सीङ

बोकाको आँखाहरूका बीचमा उम्रेको ठूलो सीङ भाँचिएको थियो (दानिएल ८:८) । त्यसले ग्रीस साम्राज्यको शासक अलेक्‍जेण्डर महान्‌लाई जनाउँदछ । अलेक्‍जेण्डरको आफ्‍नो शक्तिको चरम सीमामा ३३ वर्षको कलिलो उमेरमै मृत्यु भएको थियो । विजयमा हासिल गरेका ती राष्‍ट्रहरूले यो खबरलाई विश्वास गर्न सकेका थिएनन् । हामीले अघिल्‍लो पाठ “चितुवा” मा चार वटा टाउकाहरू भएको चितुवाले अलेक्‍जेण्डर महान्‌को मृत्युपछि उसका चार कप्‍तानहरूद्वारा ग्रीस साम्राज्य चार भागमा विभाजन भएको कुरा अध्ययन गऱ्यौं । त्यही कुरालाई बोकाको ठूलो सीङ भाँचिएपछि अरू चार सीङहरू उम्रिएका कुराले जनाउँदछ । “तिनीहरू मध्येबाट अर्को एउटा सीङ आयो जो सानोबाट शुरू भयो तर दक्षिणतिर र पूर्वतिर र सुन्दर भूमितिर शक्तिशाली हुँदै बढ्दै गयो ।” दानिएल ८:९ । त्यो सानो सीङचाहिँ रोम हो (दुवै स्थितिमा: प्राचीन मूर्तिपूजक रोम र पोपतन्‍‍त्रीय रोम) ।

पिड्‍नाको निर्णायक युद्धमा (ई.पू. १६८ मा भएको) रोमले माकेडोनियालाई परास्त गरेको थियो, जुनचाहिँ अलेक्‍जेण्डरको साम्राज्यको पश्‍चिमी क्षेत्रको मुख्य भाग थियो । पिड्‍नाको युद्धको बारेमा इतिहासकार मायर्स (Myers) ले यसरी भन्दछन्, “विश्वमा आफ्‍नो प्रभुत्व जमाउने संघर्षमा रोमले सबैभन्दा निर्णायक युद्ध पिड्‍नामा लडेको थियो ।” त्यसको ७ वर्षपछि ई.पू. १६१ मा अगमवाणी अनुसार रोम आफ्‍नो संगठित शक्ति लिएरयहूदीहरू सँगलड्‍न मैदानमा आयो । माकेडोनियामाथि विजय गर्नुभन्दा धेरैवर्ष पहिले अगमवक्ताले दर्शनमा देखे अनुसार नै अलेक्‍जेण्डरको साम्राज्यको एक भागबाट रोमी साम्राज्यको उदय भयो र रोमी साम्राज्यबाटै पोपतन्‍‍त्रीय रोमको उदय भयो ।

यस अध्यायको सानो सीङ सिरियाको एन्टैअकस एपिफानेस राजा हो भन्‍ने विचारहरू कहिले काहिँ धेरै व्यक्तिहरूले व्यक्त गर्दछन् तर यो गलत कुरा हो । यसमा विवाद गर्नुपर्ने कुनै कुरा नै छैन किनभने जब रोमीहरूले यो राज्यमाथि विजय प्राप्‍त गरे तब एन्टैअकसले रोमीहरूलाई सबै कुराको कर तिर्ने गर्दथ्यो । यसकारण यो सानो सीङले एन्टैअकसलाई होइन रोमलाई नै संकेत गर्दछ । सिरिया ई.पू. ६५ मा रोमी साम्राज्यको एउटा प्रान्त हुन गयो । यहूदियालाई ई.पू. ६३ मा रोमले दखल पाऱ्यो र मिश्र देश ई.पू. ३० मा रोमको एउटा प्रान्त हुन गयो । “राजकुमारहरूका राजकुमारको विरुद्धमा त्यो खडा हुनेछ ।” दानिएल ८:२५ । यसले रोमी शक्तिद्वारा पन्तियस पिलातस भन्‍ने व्यक्तिले येशू ख्रीष्‍टलाई मृत्युको निम्ति सुम्पेको कुरालाई जनाउँदछ । तिबेरियस कैसरको शासनकालमा सन् ३१ मा मुक्तिदाता येशू ख्रीष्‍टलाई क्रूसमा झुण्डाइएको थियो । “त्यसले अचम्मको विध्वंस ल्याउनेछ ।” दानिएल ८:२४ । यसले सन् ७० मा यरूशलेमको विनाशको बेलामा रोमीहरूले (प्राचीन मूर्तिपूजक रोम) करीब ११ लाख यहूदीहरूलाई सर्वनाश गरेको कुरालाई संकेत गर्दछ ।

पोपतन्‍‍त्रीय स्वरूपमा खडा भएपछि रोमीहरूले लाखौं-लाख परमेश्वरका जनहरूलाई मारेका थिए । पोपतन्‍‍त्रीय रोमले पनि सत्यलाई भुइँमा फ्याँकिदियो र गरो सबै काममा त्यो सफल भयो (दानिएल ८:१२, २४) । पोपतन्‍‍त्रले परमेश्वरको सत्यलाई खुट्टामुनि कुल्‍चिदियो । यसका केही उदाहरणहरू तल दिइएका छन् ।

फलामका खुट्टाहरू

फलामले अति उत्तमसँग रोमी राज्यको प्रतिनिधित्व गरेको छ। चार साम्राज्यहरूमध्ये यो सबैभन्दा बलियो र शक्तिशाली साम्राज्य थियो। यो फलामजस्तै बलियो थियो। ग्रीसले आफ्‍नो सिपाहीको हातहतियार बनाउँदा पित्तल प्रयोग गरेझैँ खासगरी रोमले फलामको प्रयोग गर्दथियो।

पोपतन्त्रले सत्यलाई भूइँमा फ्याँकिएको भन्नुको अर्थ

विश्वासद्वारा धार्मिकताको सुसमाचारलाई हटाएर काम र योग्यताले मुक्ति पाउने भन्‍ने मुक्तिको गलत सुसमाचार र झूटो प्रणालीको स्थापना गऱ्यो ।

परमेश्वर र मानिसको बीचमा एक मात्र मध्यस्तकर्ता येशू ख्रीष्‍टलाई हटाएर उहाँको ठाउँमा सन्तहरू र येशूकी आमा कन्या मरियमलाई पुकार्न शुरू गरे। साथै मानव पूजाहारीसँग पाप स्वीकार गरी पाप क्षमाको निम्ति पूजाहारीहरूमै निर्भर रहन थाले ।

येशू ख्रीष्‍ट पापी मानिसको शरीर लिएर अवतार भएको कुरालाई इन्कार गरेर उहाँ पवित्र स्वभाव र शरीरमा आउनुभएको हो भनेर सिकाउँदछ ।

युकारिष्‍टमा चढाइएको रोटी र दाखरसलाई पापी मानव पूजाहारीले जब हातमा लिई प्रार्थना गर्दछ तब त्यो येशूको वास्तविक शरीर र रगतमा परिणत हुन्छ भन्‍ने सिद्धान्तलाई तिनीहरूको मूर्तिपूजक प्रभु भोजमा सिकाउँदछ। यसरी तिनीहरूले येशूलाई सृष्‍टि गरेको ठहरिन्छ । यो ईश्वर निन्दा हो ।

परमेश्वरको आराधना गर्ने पवित्र दिन, सातौं दिन शबाथलाई हप्‍ताको पहिलो दिन सूर्यको पूजा गर्ने दिनमा सार्ने अधिकार छ भनेर दाबी गर्दछ ।

स्वभाविक रूपमा आत्मा अमर हुन्छ, पर्गेटरी अर्थात् पापबाट शुद्ध हुने ठाउँ, पानी छर्केर गरिने बप्‍तिस्मा, रीतिरिवाजहरू र मण्डलीको आवाज बाइबल भन्दापनि माथि हुन्छ भन्‍ने जस्ता अरू धेरै गलत शिक्षाहरूलाई परिचित र स्थापित गरायो ।

परमेश्‍वरको व्यवस्थाबाट मूर्तिपूजा नगर्नु भन्ने दोस्रो आज्ञालाई हटाएर कन्या मरियमको मूर्ति र येशूको क्रूसलाई ढोग्दछन् ।

दर्शनलाई दाँजेर हेर्दा

सानो सीङको बारेमा दानिएल ७ र ८ अध्यायको बीचमा त्यहाँ समानन्तर रहेको छ । खासगरी “विशेष सीङ” भनेको यो हो, कि यो सीङचाहिँ राजनैतिक क्षेत्रमा मात्रै समावेश नभएर धार्मिक क्षेत्रमा पनि यसले आफ्‍नो आकार विस्तार पारेको थियो ।

previous
अघिल्लो
अर्को
previous
chat