bookइतिहासका अन्तिम पानाहरू
चितुवा जस्तै पशु
प्रकाश १३:१-१०

चितुवा जस्तै पशु

“जसै म ती सीङहरूका बारेमा विचार गर्दैथिएँ, मेरो अगि एउटा सानो सीङ थियो, जुनचाहिँ तिनीहरूमध्येबाट उम्रेको थियो, र पहिलेका सीङहरूमध्ये तीन वटाचाहिँ त्यसको सामु जरैसमेत उखेलिए । मानिसका आँखाजस्तै त्यस सीङका आँखा थिए, र अहङ्कारी कुरा गर्ने त्यसको मुख थियो ।”

- दानिएल ७:८

प्रकाशको पुस्तक १२ अध्यायमा उल्‍लेखित अजिङ्गर र प्रकाश १३ अध्यायमा उल्‍लेखित चितुवाजस्तै पशुले दुई चरणमा भएको रोमी शक्ति: ‘प्राचीन रोमी’ र ‘पोपतन्‍‍त्रीय रोमी’ शक्तिहरूलाई जनाउँदछ । त्यसैले अजिङ्गर र पशु दुवैको सात वटा टाउका र दश वटा सीङहरू छन् र तिनीहरूले एउटै शक्तिलाई संकेत गरेको छ । प्रकाश १२:३-५ अध्यायमा भएको अजिङ्गरले मूर्तिपुजक रोमी शक्ति तथा पोपतन्‍‍त्रीय रोमी शक्तिको प्रतिनिधित्व गर्दछ भने प्रकाश १३ अध्यायमा भएको पशुले पोपतन्‍‍त्रीय रोमी शक्तिको मात्रै प्रतिनिधित्व गर्दछ । रोमी साम्राज्य मूर्तिपुजक धार्मिक चरित्रदेखि पतित इसाई धार्मिक चरित्रमा परिवर्तन भएको थियो । त्यसकारण त्यहाँ एउटा उस्तै चरित्र वा ढाँचा भएको पशुमा परिवर्तन भएको देखाइएको छ ।

यो चितुवा पशु र दानिएल ७:८ को सानो सीङ एकै शक्ति वा राज्य हुन् भनेर वचनद्वारा सजिलैसँग प्रस्तुत गरिएको छ । त्यो पोपतन्‍‍त्र रोमी शहर हो । भ्याटिकन शहर विश्वको सबैभन्दा सानो स्वतन्‍‍त्र राष्‍ट्र हो । त्यो राज्य वा शक्ति धेरै मानिसहरूको जनसंख्या भएको ठाउँबाट निस्केको थियो । समुद्रले मानिसहरूको भीडलाई जनाउँदछ (प्रकाश १७:१५) । त्यो ठाउँ यूरोप महादेश हो । यूरोप महादेशको रोम राज्यबाट नै पोपतन्‍‍त्र वा भ्याटिकन शहरको उदय भएको हो । त्यसको निधारमा ईश्वर निन्दा नाउँ लेखिएको छ भनी भनिएको छ ।

प्रकाश १३ अध्यायको यो चितुवाजस्तै पशुलाई दानिएल ७ अध्यायमा प्रयोग गरिएका संकेतहरूसँग दाँजेर हेर्दा यो पशुले दानिएल ७ अध्यायको सबै पशुहरूका जीवन बोकेको पाईन्छ । यो पशुको शरीर चितुवाकोजस्तो थियो । यो ग्रीस राज्य हो । त्यसको खुट्टाहरू भालूको जस्तो थियो । यो मादी र फारसी राज्य हो । त्यसको मुख सिंहको जस्तो थियो । सिंह बेबिलोन राज्य हो । पशुलाई अजिङ्गरले आफ्‍नो शक्ति, आफ्‍नो सिंहसन र ठूलो अधिकार दियो । अजिङ्गरले प्राचीन रोमी साम्राज्यलाई जनाउँदछ भने यो चितुवाजस्तो पशुले पोपतन्‍‍त्रलाई जनाउँदछ । प्राचीन रोमी साम्राज्यले नै पोपतन्‍‍त्रलाई आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दिएको थियो । जसरी यो चितुवाजस्तो पशुले पहिलेका सबै पशुहरूका विशेषताहरू बोकेको छ ठीक त्यसरी नै पोपतन्‍‍त्रले पनि पहिलेका ती सबै राज्यहरू: बेबिलोन, मादी र फारसी, ग्रीस र प्राचीन रोमी राज्यहरूका जीवन वा शिक्षा बोकेको पाइन्छ । “बाँकी पशुहरूचाहिँ — तिनीहरूबाट तिनीहरूको अधिकार खोसियोस तर तिनीहरूका जीवनहरूचाहिँ एउटा अवधि र समयका निम्ति लम्मिए ।” दानिएल ७:१२ । KJV

यी तल दिइएका बुँदाहरूले प्रकाश १३ अध्यायको चितुवा पशुसँग दानिएल ७ अध्यायको सानो सीङ एक अर्कामा गाँसिएका छन् वा ती दुवै शक्तिहरू एकै हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दछ ।

त्यसले सर्वोच्‍चको विरुद्धमा अहंकारी शब्दहरू बोल्यो र ईश्वर निन्दा गऱ्यो (दानिएल ७:२५; प्रकाश १३:५-६) ।

त्यसले सन्तहरूसँग लडाइँ गरी जित्यो (दानिएल ७:२१, प्रकाश १३:७) ।

त्यसले निरन्तर ४२ महिनासम्म जुनचाहिँ १२६० वर्ष सन् ५३८ देखि सन् १७९८ सम्म सन्तहरूसँग लडाइँ र खेदो गऱ्यो (दानिएल ७:२५; प्रकाश १३:५) ।

“जसले कैदमा हाल्दछ, त्यो कैदमा जानेछ ।” (प्रकाश १३:१०) KJV

पोपतन्‍‍त्रले अन्धकारको युगको बेलामा परमेश्वरका असंख्य जनहरूलाई अनेक क्रूर दण्ड दिएर मारेको तथा फ्यालखानामा हालेको थियो । सन् १७९८ मा क्‍याथोलिक पोप, “पोप पायस छैठौँ” लाई नेपोलियनका कप्‍तान बर्थिअरद्वारा कैदमा लगिएको थियो । उक्त घटनाले “त्यसको शिरमा एउटा घातक चोट लागेको” (प्रकाश १३:३) भन्‍ने कुरालाई संकेत गर्दछ । किनभने फ्रान्सले रोमन क्‍याथोलिक पोपलाई पक्रेर कैदमा हाली उसको शक्ति खोसेको थियो । सारा विश्वले पोपतन्‍‍त्र समाप्‍त भयो भनी सोचेको थियो ।

“उसको घातक चोट निको भयो” केही समयपछि गैर रोमन क्‍याथोलिक शक्तिहरू: ग्रेट ब्रिटेन (बेलायत) र रसियाले फ्रान्समाथि इटलीमा दवाब दिए । त्यही दवाबका कारण फ्रान्स फिर्ता गयो । तब पोपतन्‍‍त्रले “पोप पायस सातौँ” नामक एउटा नयाँ पोपको नियुक्ति गऱ्यो र पोपतन्‍‍त्रले आफ्‍नो गुमाएको शक्तिलाई पुन: प्राप्‍त गर्न शुरू गऱ्यो । त्यस पश्‍चात् पशुको घातक चोट विस्तारै विस्तारै निको भइरहेको छ । आजभोलि रोमी पोपको प्रभाव सारा विश्वमा पुन: छाइरेहेको छ । पोपतन्‍‍त्रले आफ्‍नो पुरानो शक्तिलाई हरेक ठाउँ र क्षेत्रबाट तीव्रगतिले प्राप्‍त गर्दैछ । भ्याटिकन सिटी विश्वको सबैभन्दा सानो राष्‍ट्र भएर पनि विश्व राजनीतिमा एक शक्तिशाली राजनैतिक शक्तिको रूपमा देखिन थालेको छ । आजभोलिका सञ्चार माध्यमहरूमा पोपतन्‍‍त्र र पोपको बारेमा जानकारी नगरिएको समाचार पाउन मुश्किल भएको छ । हरेक दिनका समाचारमा पोपको अभिव्यक्ति र कार्यको बारेमा सुन्‍न पाइन्छ । पोपतन्‍‍त्रले विभिन्‍न देशहरू, विभिन्‍न धर्महरू, विभिन्‍न संघसंस्थाहरू र राष्‍ट्रसंघबाट विस्तारै समर्थन प्राप्‍त गर्दैछ । जब उसले चारैतिरबाट पूर्ण समर्थन प्राप्‍त गर्नेछ तब उसको घातक चोट पूरै निको हुनेछ ।

previous
अघिल्लो
अर्को
previous
chat