bookइतिहासका अन्तिम पानाहरू
भेडा र बोका दनिएल
दानिएल अध्याय ८

भेडा र बोका दनिएल

बेबिलोनका अन्तिम राजा बेलसजरको राज्यकालको तेस्रो वर्षमा (ई.पू. ५५३) दानिएलले एउटा दर्शन देखे । अगमवक्ता दानिएल दर्शनको समयमा एलम प्रदेशको राजधानी शुशन दरबारमा थिए । दर्शनमा तिनले दुई सीङ्गे भेंडालाई देखे, जसको एउटा सीङ अर्कोभन्दा लामो थियो । त्यो भेंडाले पश्‍चिमतिर, उत्तरतिर र दक्षिणतिर रोक्‍न नसकिने ठूलो शक्तिको साथ हानिरहेको थियो (दानिएल ८:१-४) । अनि दर्शनमा, आँखाहरूका बीचमा एउटा विशेष ठूलो सीङ भएको बोका ज्यादै तीव्र गतिमा पश्‍चिमबाट आएको देखे । त्यसले भेंडालाई भयानक बलले अचानक हमला गरी जमीनमा पछारिदियो र त्यसमाथि टेक्‍यो । त्यो बोका अति ठूलो भयो । तर त्यसको शक्तिको चरम सीमामा त्यसको विशाल सीङ भाँचियो र त्यसको सट्टामा आकाशका चारै बतासतर्फ विशेष सीङहरू उम्रिए (दानिएल ८:५-८) ।

ती सीङहरू मध्येबाट अर्को एउटा सीङ आयो, जो सानोबाट शुरूभयो तर दक्षिणतिर र पूर्वतिर र सुन्दर भूमितिर शक्तिशाली हुँदै बढ्दै गयो । त्यसले आफैंलाई राजकुमार जत्तिकै महान् तुल्यायो । सत्यलाई भुइँमा फ्याँकिदियो र त्यसले गरेको काममा सफल भयो (दानिएल ८:९-१२) । “यो दर्शन पूरा हुन कति समय लाग्‍ला — अर्थात्, दैनिक बलिदान, उजाड पार्ने विद्रोह र पवित्रस्थान र सेनालाई खुट्टाले कुल्‍चिएको दर्शन पूरा हुन कति समय लाग्‍ला? त्यसको उत्तर दानिएलले सुने, “दुई हजार तीन सय साँझ र विहान लाग्‍नेछ, त्यसपछि पवित्रस्थानको पुन: अर्पण हुनेछ ।” दानिएल ८:१३-१४ ।

गाब्रिएल स्वर्गदूतलाई, दानिएललाई दर्शनको अर्थ बताउन वा बुझाउन पठाइएको थियो (दानिएल ८:१६ पदमा हेर्नुहोस्) । जब २३०० दिनहरूको बारेमा स्वर्गदूतले बोल्दै थिए, दानिएल बेहोस भए (दानिएल ८:१७) । त्यसकारण यो दर्शनको केही भागहरूको बारेमा केही समयसम्म अर्थ बताउन रोकियो । जुन कुरा विस्तृत रूपमा (दानिएल ९:२१-२७) पदहरूमा गाब्रिएल स्वर्गदूतद्वारा दानिएल अगमवक्तलाई पहिलेको २३०० दिनहरूको बाँकी अंशको अर्थ खोलिदिएको हामी पढ्‍न पाउँछौं । दुईसीङ्गे भेंडाको बारेमा (दानिएल ८:२०) पदमा मादी र फारसीका राजाहरू हुन् भनेर बताइएको छ । अघिल्‍लो पाठ “भालू” मा हामीले अध्ययन गरेको मादी र फारसी साम्राज्यलाई नै यो दुई सीङ्गे भेंडाले जनाउँदछ । “त्यो भेंडाले पश्‍चिम, उत्तर र दक्षिणतिर हानिरहेको मैले देखें ।” दानियल ८:४ । त्यसले मादी र फारसी साम्राज्यले पश्‍चिमतिर मेडिटरेनियनलाई, उत्तरतिर थ्रेसलाई र दक्षिणतिर मिश्र र इथियोपियालाई आक्रमण गरी मादी र फारसी साम्राज्य महान् भएको कुरालाई जनाउँदछ । नदीको छेउमा उभिएको दुई सीङ्गे भेंडालाई रौंले ढाकिएको बोकाले जमीनमा पछारिदियो र त्यसमाथि टेक्‍यो । त्यसको अर्थ यसरी बताइएको छ, “त्यो रौंले ढाकिएको बोकाचाहिँ ग्रीसको राजा हो । त्यसका आँखाको बीचमा भएको ठूलो सीङ त्यसको पहिलो राजा हो ।” दानियल ८:२१ । त्यो पहिलो राजाचाहिँ अलेक्‍जेण्डर महान् माकेडोनियाका संस्थापक थिए । “बोका पश्‍चिमबाट आयो” मादी र फारसी साम्राज्यको पश्‍चिममा ग्रीस पर्दछ । ग्रीस साम्राज्यको अचम्मको रफ्तार र तीव्र गतिलाई, जमीनलाई नछोइकन पूरा पृथ्वीलाई पार गरी आएको बोकाले राम्रोसँग चित्रण वा प्रतिनिधित्व गर्दछ (दानियल ८:५) ।

अलेक्‍जेण्डर ई.पू. ३३४ मा एसियामा ओर्ले र तिनीसँग ३०,००० पैदल र ४,५०० घोडसवार फौज थिए । उनले फारसका सेनाहरूलाई ग्रानिकस नदीको दक्षिणी किनारमा भेटे । ग्रीसका सेनाहरूले शत्रुहरूको सामना गर्दै नदी पार गरी संगठित भएर छिट्टै फारसका फौजलाई विनाश गरे । विरोधीहरू ग्रीसको भारी हातहतियारले सुसज्‍जित घोडसवार फौज, एक ढिक्‍काभई लड्‍ने भयानक र उग्र लडाकुहरूको अगि टिक्‍नै सकेनन् । जारी युद्धहरू र सफलताको क्रममा ई.पू. ३३३ मा अलेक्‍जेण्डरले करीब ६ लाखको फौजमा रहेको फारसका नयाँ र विशाल सेनाहरूको सामना गरे । जसको नेतृत्वचाहिँ फारसका राजा कोडोमन्‍नुस आफैंले गरेका थिए । त्यो युद्धमा फारस पराजित भयो । निकै ठूलो सेनाको फौज विनाश भयो । दारा राजाको आमा, श्रीमती, बहिनी, नाबालक छोरा र दुईटी छोरीहरू मारिए । साथै घोडाहरू, रथहरू अनि ठूलो धनजन अलेक्‍जेण्डरले हात पारे । टुरोस र गाजा आक्रमण गरी लिए ।

अलेक्‍जेण्डरले फेरि फारसको साह्रै ठूलो करीब दश लाखको फौजमाथि अर्वेलाको युद्ध मैदानमा भिडन्त गरे, जुन ठाउँ टाइग्रीस नदीको केही माइल टाढा छ । लडाइँको विनाशकारी दृश्य देखेर भागेका दारा राजालाई, अन्तमा, धोकासाथ हत्या गरियो । मादी र फारसी साम्राज्य अब रहेनन् । ग्रीसले ई.पू. ३३१ मा अर्वेलाको त्यो अन्तिम युद्धमा पूर्णरूपले मादी र फारसमाथि विजय प्राप्‍त गऱ्यो । साँच्‍चै, अगमवक्ताले दर्शनमा देखेजस्तै दुई सीङ्गे भेंडा अर्थात् मादी र फारसी साम्राज्य एक समय शक्तिशाली थिए तर अब रौंले ढाकिएको बोकाको सामु अर्थात् ग्रीसको सामु खडा हुन सकेनन् (दानियल ८:७) । “त्यो बोका अति ठूलो भयो ।” दानियल ८:८ । त्यसले मादी र फारसलाई पराजित गरी ग्रीस साम्राज्य विशाल भएको कुरालाई जनाउँदछ ।

previous
अघिल्लो
अर्को
previous
chat