bookइतिहासका अन्तिम पानाहरू
सिंह
दानिएल अध्याय ७

सिंह

बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानिएल आफ्‍नो ओछ्‌यानमा पल्टिरहँदा तिनले सपना र दर्शनहरू देखे । तिनले त्यस सपनाको सार लेखे । दानिएलले भने “मेरो दर्शनमा राति मैले हेरिरहँदा मेरो अगाडि आकाशका चार बतासहरूले ठूलो समुद्रलाई मन्थन गरेका थिए । एक अर्काबाट फरक चार ठूला पशुहरू समुद्रबाट निस्के । पहिलोचाहिँ सिंहजस्तै थियो र त्यसका पखेटाहरू नचुँडाएसम्म मैले हेरिरहें र त्यो मानिस जस्तै दुई खुट्टाले उभिने गरी जमीनबाट उठ्‌यो र त्यसलाई एकजना मानिसको हृदय दिइयो ।” दानिएल ७:१-४ । दानिएल २ अध्यायमा उल्‍लेखित चार अलग-अलग धातुहरू मिलेर बनेको विशाल सालिकले पृथ्वीमा प्रकट हुने शक्तिशाली राज्यहरूको उदय र पतनको साथै ती राज्यहरूको शक्तिको चरमबिन्दुमा येशू ख्रीष्‍टको दोस्रो आगमन हुने कुरालाई संकेत गर्दछ । यसमा शंका छैन, कि मूर्तिपूजक राजा नबूकदनेसरमाथि यो कुराले ठूलो छाप परेको थियो । तथापि, जङ्गली र क्रूर पशुहरूको संकेतद्वारा पृथ्वीको सरकारहरूलाई स्वर्गले कसरी हेरिरहेको छ भनी परमेश्वरले दानिएल अगमवक्तालाई चित्रण गर्नुभयो ।

अन्तिम पशुले सर्वोच्‍च परमेश्वरको पवित्र जनहरूलाई थिचोमिचो र अत्याचार गऱ्यो । दानिएलले चार वटा पशुहरू सिंह, भालू, चितुवा र नाम नदिइएको डरलाग्दो पशु समुद्रबाट निस्केर आइरहेको देखे । समुद्र वा पानीले पृथ्वीमा भएका मानिसहरूको भीड, जातिहरू, भाषाहरू वा बाक्‍लो जनसंख्यालाई जनाउँदछ । “तिमीले देखेका ती पानीहरू, जहाँ त्यो वेश्या बसेकी छे, तीचाहिँ मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू हुन् ।” प्रकाश १७:१५ । बतासले समुद्रलाई मन्थन गरेको कुराले कलह, झै-झगडा र युद्धहरूको संकेत गर्दछ यर्मिया २५:३१-३३, ४९:३६-३७ । दानिएलले देखेका चार वटा पशुहरूले पृथ्वीमा देखापर्ने चार वटा साम्राज्यहरूलाई देखाउँदछ दानिएल ७:१७, २३, २४। राजनीतिक द्वन्द्व, युद्ध र युद्धहरूको हो-हल्‍ला र हातहतियारको प्रयोगद्वारा ती साम्राज्यहरूको उदय र पतन भएको थियो ।

पहिलो पशु “सिंह” ले पहिलो साम्राज्य बेबिलोनलाई जनाउँदछ जुन दानिएल २ अध्यायमा उल्‍लेखित सुनको टाउको अनुरूप छ । धातुहरूमा मुख्य धातु सुन भएजस्तै सिंह जनावरहरूको राजा हो । यसले बेबिलोन राज्यको शक्ति र महान्‌तालाई जनाउँदछ । सिंहमा भएको चिलका जस्तै दुईवटा पखेटाले राजा नबूकदनेसरले गरेको विस्तारित विजयको रफ्तारलाई जनाउँदछ । बाइबलको भविष्यवाणीमा पखेटाले समयको तीव्रताको संकेत गर्दछ । नबूकदनेसर एउटै मानिसले ठूलो परिणाममा काम र शासन गरेको बेबिलोनको समयावधि उल्‍लेखनीय थियो । जब नबूकदनेसर राजाको ई.पू. ५६१ मा मृत्यु भयो त्यसपछि बेबिलोन राज्यको महान्‌ता हटेर गयो । किनभने नबूकदनेसर पछिका बेबिलोनका राजाहरू तिनीजस्तै हठी, महान् र शक्तिशाली थिएनन् । पखेटाहरू उखेलिए, आक्रमणको दिनहरू र तीव्र विजयहरू सकिए । मानिसजस्तै त्यो खुट्टामा उभियो र त्यसलाई एउटा मानिसको हृदय दिइयो । बेबिलोनले सिंहको जस्तो आफ्‍नो शक्ति गुमाउन थाल्यो । त्यसको मतवालापन र विलाशिताचाहिँ धमिरा लागेजस्तै कमजोर र डगमगाउने बन्‍नपुग्यो । २३ वर्षपछि मादी र फारसीको जब्‍बर योद्धाले बेबिलोन राज्यलाई पराजित गऱ्यो । नबूकदनेसरका नाती बेबिलोनको अन्तिम राजा बेलसजरले महान् र हठी राजा नबूकदनेसरलाई परमेश्वरले सिकाउनु भएको पाठ र शिक्षालाई सिकेर आफ्‍नो राज्यमा लागू गर्न चाहेनन् ।

बरु आफ्‍नो पापपूर्ण इच्छा र चाहानाहरूमा लिप्‍त हुँदै हरेक रात मद्यपान गरी घृणित क्रियाकलापहरूमा डुब्दै गए । बेलसजरले आफू, आफ्‍ना भारदारहरू, आफ्‍ना श्रीमतीहरू र रखौटीहरूलाई उनका पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका पवित्र भाँडाकुँडाहरूबाट दाखमद्य पिलाए । मद्य पिएपछि उनीहरूले सुन, चाँदी, काठ र ढुङ्गाको देवताहरूको प्रशंसा गरे । अन्तमा उनी “हजुर तराजुमा जोखिनुभएको छ र हल्का भेट्टाइनुभएको छ” भन्‍ने लेखोट लम्पट दरबारको भित्तामा पवित्र हातद्वारा लेखिइन पुग्यो ।

previous
अघिल्लो
अर्को
previous
chat