bookइतिहासका अन्तिम पानाहरू
ठुलो रातो अजिङ्गर
प्रकाश अध्याय १२

ठुलो रातो अजिङ्गर

ठूलो रातो अजिङ्गरले (प्रकाश १२:३-४, ९) मुख्यतया शैतानलाई नै जनाउँदछ तर त्यसले प्राचीन मूर्तिपूजक रोम र पोपतन्‍‍त्रीय रोमलाई प्रयोग गरेको कुरालाई पनि संकेत गर्दछ । किनकि शैतानले यी दुवै राज्य प्रणाली वा शक्तिको प्रयोग गरेर संसारको उद्धारकर्तालाई नाश गर्न खोजेको थियो र परमेश्वरको साँचो मण्डलीलाई खेदो गरेको थियो । प्राचीन मूर्तिपूजक रोमले शैतानको प्रेरणाद्वारा मुक्तिदाता येशूको जन्म भएको समयमा उहाँलाई मार्न ठूलो प्रयास गरेको थियो । हेरोद राजाले बेथलेहेम र त्यस इलाका भित्रका २ वर्ष भन्दा मुनिका सबै बालकहरूलाई मार्न लगाएर येशू ख्रीष्‍टलाई मार्ने प्रयास गरेको थियो (मत्ती २:१६) ।

“सात वटा टाउका” र “दश वटा सीङ” भएको ठूलो रातो अजिङ्गरले शैतानद्वारा संचालित भएका राज्यहरू र सरकारहरूको विभिन्न ढाँचाहरूलाई र दश भागमा विभाजन हुन गएको प्राचीन मूर्तिपूजक रोमले परमेश्वरका जनहरूको खेदो गरेको योजनाहरूलाई संकेत गर्दछ (प्रकाश १२:३; १३:१; १७:३) । प्राचीन मूर्तिपूजक रोमले सन् ७० मा यरूशलेमको मन्दिरलाई ध्वस्त पारेको थियो । अजिङ्गरलाई प्रकाश १२:९ पदमा “त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहाकाउने दियाबलस वा शैतान हो” भनी परिभाषित गरिएको छ । त्यसले स्वर्गमा परमेश्वर र उहाँका पवित्र दूतहरूसँग युद्ध गरी हारेको थियो । त्यसैले तिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन ।

शैतान र त्यसका पछिलाग्‍ने एक तिहाइ पतित स्वर्गदूतहरूलाई शैतानसँगै तल पृथ्वीमा फ्याँकिएको थियो (प्रकाश १२:४, ७-९) । शैतानले जब आफू स्वर्गदेखि तल पृथ्वीमा फ्याँकिएको र स्वर्गलाई सदाको लागि गुमाएको चाल पायो तब परमेश्वरको मण्डलीलाई सताउन शुरू गऱ्यो (प्रकाश १२:६, ११, १३, १४, १७) । “त्यस स्त्रीलाई बाढले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्‍ना मुखबाट नदीजस्तै पानी निकाल्यो ।” प्रकाश १२:१५ । अजिङ्गरले मुखबाट निकालेको बाढी वा नदीजस्तै पानीले परमेश्वरको मण्डली र उहाँको सत्यतालाई नाश गर्न शैतानद्वारा स्थापित झूट, दन्त्यकथा र मुक्तिको गलत प्रणाली र शैतानका ती छलहरूले बहकाइएका मानिसहरूको भीडलाई जनाउँदछ । “तर पृथ्वीले त्यस स्त्रीलाई सहायता गऱ्यो, र अजिङ्गरले आफ्‍नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्‍नो मुख उघारेर निलिदियो ।” प्रकाश १२:१६ । यो पृथ्वीले अमेरिका राज्यलाई संकेत गर्दछ । पोपतन्‍‍त्रीय रोमले यूरोपियन राज्यहरूबाट परमेश्वरका जनहरूलाई सतावट गरी खेदेको कारणले ती मानिसहरू अमेरिकाको खाली र स्वन्‍‍त्र भूभागमा आश्रय वा शरण लिन पुगेका थिए । परमेश्वरले सत्यलाई सुरक्षित राख्‍न उहाँका मानिसहरूलाई पृथ्वीभरि छरपष्‍ट गर्नुभयो । शैतानले परमेश्वरको मण्डलीलाई नाश पार्न नसकोस् भनेर परमेश्वरले उहाँका जनहरूलाई विरोधीहरूदेखि अलग र मानिसहरूको भीडभाड नभएको ठाउँमा पुऱ्याउनुभयो ।

“पानी” ले विशाल जनसंख्या भएको संसारको कुनै पनि भागलाई संकेत गर्दछ । “तिमीले देखेका ती पानीहरू, जहाँ त्यो वेश्या बसेकी छे, तीचाहिँ मानिसहरू, जातिहरू र भाषाहरू हुन् ।” प्रकाश १७:१५ । त्यस्तै “पृथ्वी” ले त्यसको ठीक विपरीत थोरै भन्दा थोरै जनसंख्या भएको ठाउँलाई संकेत गर्दछ । आफ्‍नो समय थोरै छ भनी थाहा पाएर शैतानले (प्रकाश १२:१२) परमेश्वरको व्यवस्था कायम राख्‍ने उहाँको अन्तिम गढ, बाँकी रहेको “शेष मण्डली” (प्रकाश १२:१७) माथि युद्ध गरिरहेको छ । शैतानले आफ्‍नो सम्पूर्ण बुद्धि, शक्ति र छलहरूद्वारा परमेश्वरको शेष मण्डलीलाई बहकाउने, भ्रममा पार्ने र नाश गर्ने अन्तिम प्रयास गरिरहेको छ ।

previous
अघिल्लो
अर्को
previous
chat