bookइतिहासका अन्तिम पानाहरू
३ स्वर्गदुतहरुका संदेशहरु
प्रकाश १४:६-१२

३ स्वर्गदुतहरुका संदेशहरु

प्रकाश १४:६-१२ पदहरूमा उल्‍लेखित तीन स्वर्गदूतहरूका सन्देश नै सारा पृथ्वीमा बसोबास गर्ने हरेक मानिसहरूका निम्ति परमेश्वरको अन्तिम चेतावनी र दयाको सन्देश हो । यो सन्देश विशेष गरी पृथ्वीको इतिहासको अन्तिम दिनहरूको निम्ति हो । किनकि “उहाँको इन्साफको घडी” भन्‍ने यो वचन दानिएल ८:१४ पदको २३०० दिनहरू अगमवाणीको अन्त्यसँग सम्बन्धित रहेको छ र त्यो दिन प्रायश्‍चित्तको दिनको प्रतिरूप पनि हो ।

पवित्र स्थानलाई शुद्ध गर्ने भन्‍नु र उहाँको इन्साफको घडी भन्‍नु एकै हो । त्यहाँ हामीले तीन अद्वितीय भविष्यवाणीका सन्देशहरूलाई पाउँछौं । जुनचाहिँ हाम्रो वर्तमान समयसँग सम्बन्धित र निकट भविष्यमा हुन आउने घटनाहरूको बारेमा छ । जुन भविष्यवाणीका घटनाहरूलाई हामीले ध्यान दिनु जरुरी छ । यी वर्तमान समयका सत्य सन्देशहरू हुन् । त्यसैले यसलाई “वर्तमानको सत्यता” Present Truth भनेर भनिएको छ ।

अगमवाणीको आत्माले (एलेन जी. व्हाइटद्वारा लिखीत लेखहरू) अर्लि राइटिङ्‍ड (Early Writings) भन्‍ने पुस्तकको पेज ६३ को १ अनुच्छेदमा यसरी लेखिएको छ, “परमेश्वरको वचनभित्र त्यहाँ धेरै बहुमूल्य सत्यहरू छन् तर परमेश्वरको मण्डलीलाई वर्तमानको सत्यताको आवश्यकता छ ।” (२ पत्रुस १:१२ KJV) ।

सुसमाचार सबै युगहरूमा एउटै छ । अर्थात् येशू ख्रीष्‍टमा विश्वासद्वारा मुक्ति । तर हरेक युग अनुसार सुसमाचारमा वर्तमानको सत्यता गाभिएको हुन्छ । जसले वर्तमानको सत्यतालाई इन्कार गर्छ उसले सुसमाचारलाई इन्कार गरेको हुन्छ । जस्तै: नोआको समयमा वर्तमानको सत्यता भनेको “जलप्रलयद्वारा पृथ्वी ध्वस्त हुने र उद्धार पाउन सबैजना नोआको जहाजभित्र आउनु” भन्‍ने थियो । त्यसैगरी लोतको समयमा वर्तमानको सत्यता भनेको “स्वर्गबाट आगो बर्सेर सदोम र गमोरा शहर नष्‍ट हुनेछ र उद्धार पाउन त्यो शहरबाट बाहिरिनु” भन्‍ने थियो । बप्‍तिस्मा दिने यूहन्‍नाको समयमा वर्तमानको सत्यता भनेको “संसारको पाप उठाईलैजाने परमेश्वरका थुमा अर्थात् येशू मसीहलाई स्वीकार गर्नु” भन्‍ने थियो । तर ती सबै युगहरूमा सुसमाचार एउटै थियो जुनचाहिँ विश्वासद्वारा येशू ख्रीष्‍टमा मुक्ति हो । पृथ्वीको अन्तिम समयको निम्ति वर्तमानको सत्यता भनेको “तीन स्वर्गदूतहरूको सन्देश हो ।”

तीन स्वर्गदूतहरूका सन्देशहरूलाई आकाशमा उडिरहेका ३ स्वर्गदूतहरूद्वारा घोषणा गरिन्छ । त्यसले विश्वव्यापी रूपमा फैलिने स्वर्गदूत (समाचारबाहक) को काम र सन्देशको प्रकृतिलाई संकेत गर्दछ । “एन्‍जल” Angel शब्द ग्रीक शब्द “एन्‍जलोन” Angelon बाट आएको हो । जसको अर्थ समाचार बाहक हो । त्यसकारण तीन स्वर्गदूतहरूले, आफ्‍नो सारा शक्तिले, परमेश्वरको अनन्त सुसमाचारलाई सारा संसारमा बाँड्‍ने र परमेश्वरको इच्छासँग मेलखाने काम गर्ने पुरुष र स्त्रीहरूलाई संकेत गर्दछ ।

अनन्तको सु-समाचार के हो? तपाईंले यूहन्‍नाको ३:१६ पदमा यसको विस्तृत जानकारी पाउन सक्‍नुहुन्छ । त्यहाँ यस्तो लेखिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ।” बाइबलमा आदम र हव्‍वाको कथाको बारेमा हामी सबैलाई थाहा छ, परमेश्वरले खान निषेध गर्नुभएको फल तिनीहरूले खाएका थिए । तिनीहरूले ‘त्यो फल नखानु र खायौ भने मर्नेछौ’ भन्‍ने चेतावनी पाएका थिए । तिनीहरूको अनाज्ञाकारिताले सारा मानवजाति माथि पाप आयो र पापको ज्याला मृत्यु (रोमी ६:२३) आयो । यो मृत्यु भनेको अनन्त मृत्यु (दोश्रो मृत्यु) हो ।

परमेश्वर जो हाम्रा सृष्‍टिकर्ता हुनुहुन्छ, उहाँले हामीलाई अथाह प्रेम गर्नुहुन्छ, त्यसैले मानिसमाथि परमेश्वरले अनुग्रह गर्नुभयो । मानिसले पाउनुपर्ने अनन्त मृत्युको दण्डलाई परमेश्वर स्वयम्‌ले लिनुभयो । उहाँले आफ्‍नो एकमात्र पुत्र, येशू ख्रीष्‍टलाई पठाउनुभयो । उहाँले हाम्रो खातिर दु:ख, कष्‍ट र क्रूसको भयानक मृत्युलाई रोज्‍नुभयो । यद्यपि येशू परमेश्वर हुनुहुन्थ्यो । “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो । सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन । अनि वचन देहधारी हुनु भयो, र अनुग्रह र सत्यताले पूर्णभई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो ।” यूहन्ना १:१-३, १४ । “उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्‍टिका ज्येष्‍ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए । स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन् ।” कलस्सी १:१५-१६ । “तर यी आखिरी दिनहरूमा आफ्‍ना पुत्रद्वारा हामीसँग बोल्‍नुभएको छ । पुत्रलाई नै उहाँले सबै कुराका उत्तरधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्‍टि रच्‍नु पनि भयो । उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्‍नो शक्तिको वचनले सम्हाल्‍नुहुन्छ । पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्‍च स्थानमा उहाँ विराजमान हुनुभयो ।” हिब्रू १:२-३ । तर हाम्रो खातिर मानिस हुनुभयो । हामीजस्तै गरी हरेक कुरामा प्रत्येक दिन परीक्षामा पर्नुभयो तर उहाँ निर्दोष र पाप रहित रहनुभयो । तैपनि सारा मानवजातिलाई पापको ज्याला अनन्त मृत्युबाट मुक्त गर्न हाम्रो पापको भारी बोकेर क्रूसमा रगत बगाई प्राण नै दिनुभयो (हिब्रू ९:२२) र हामीलाई सित्तैमा मुक्ति दिनुभयो । अनन्त मृत्युबाट बचाएर सित्तैमा मुक्ति र अनन्त जीवन दिने येशूको प्रस्तावलाई स्वीकार गर्ने या नगर्ने त्यो तपाईंको इच्छा हो । येशूको उक्त प्रस्तावलाई स्वीकार गर्न केवल उहाँमाथि विश्वास गर्नुहोस् अर्थात् तपाईंको पापको निम्ति येशू तपाईंको सट्टामा मर्नुभयो भनी विश्वास गर्नुहोस् अनि तपाईंले गर्नुभएको सम्पूर्ण पापलाई उहाँको सामु स्वीकार गर्नुहोस् र फेरि नगर्ने वाचासहित फर्कर्नुहोस् (१ युहन्ना १:९) । र विश्वास गर्नुहोस् कि उहाँले तपाईंलाई पापमा लड्‍नबाट बचाउन उहाँ सक्षम हुनुहुन्छ । जतिजनाले यो विश्वासद्वारा धार्मिकतालाई स्वीकार गर्दछन् ती सबै उहाँद्वारा बचाइनेछन् ।

प्राचीन कालदेखि नै मुक्तिको गलत सन्देश फैलिदै आएको छ र गलत प्रथाहरूको स्थापना हुँदै आइरहेको छ । संसारमा हामी यस्तो विशाल समूहलाई भेट्‍न सक्छौं, जसले आफ्‍नै कर्मद्वारा मुक्ति पाउने प्रयास गरिरहेको हुन्छ । सृष्‍टिकर्तालाई होइन तर सृजिएका थोकहरूलाई, जीवजन्तु, रूखविरुवा, घाम, पानी, मानिस र विभिन्‍न आकृति तथा मूर्तिहरूलाई पूजा गर्ने गर्दछन् । दानदक्षिणा दिने, फूल, अक्षता, पानी चढाउने, बत्ती बाल्‍ने, बलि दिने र मरेकाहरूका आत्मासँग कुरा गर्ने, तन्तत्रमन्‍‍त्र गर्ने जस्ता कामहरू गर्दछन् । अर्कोतर्फ हामी यस्तो समूहलाई पनि भेट्‍न सक्छौं जसले त्यहाँ कोही ईश्वर नै छैन भनी विश्वास गर्दछन् । कुनै कोषीय जीवबाट विकसित भएर मानिस भएको हो भन्‍ने विकासवादको सिद्धान्त वा नास्तिकवादलाई विश्वास गर्दछन् । यो नास्तिकवादको शिक्षा तीव्र गतिमा फैलिरहेको छ । माथिका सम्पूर्ण कुराहरूको प्रभाव इसाई जगतमा पनि परिरहेको छ । असल कामहरू गरेर दान दक्षिणा दिएर, एक अर्कालाई प्रेम गरेर मुक्ति पाइन्छ भन्‍ने मुक्तिको गलत शिक्षा तथा मरेका सन्तहरूसँग प्रार्थना गर्ने, धर्मगुरुहरूबाट पाप क्षमा पाउने, कन्या मरियमको आरधना गर्ने र येशूको नैतिक चरित्र, उहाँको स्वभाव दश आज्ञालाई लत्याएर मुक्तिको साँचो सुसमाचारलाई नै धमिल्याइरहेका छन् । तर परमेश्वरले पृथ्वीको अन्तिम समयमा अनन्तको सुसमाचारलाई सारा संसारमा फैलाउनु हुनेछ ।

पहिलो सवर्गदूतको सन्देशमा हामीले ३ वटा महत्त्वपूर्ण सन्देशहरू पाउँछौं ।

१) “स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर” (प्रकाश १४:७)

सृष्‍टिकर्ता परमेश्वर मात्रै आदर, प्रशंसा र महिमाको योग्य हुनुहुन्छ, त्यसैले उहाँलाई मात्र दण्डवत् गर्नु भनी परमेश्वर भन्‍नुहुन्छ । स्वर्ग, पृथ्वी र समुद्र र त्यहाँ भएका यावत् थोकहरू परमेश्वरले छ दिनमा बनाउनुभयो र त्यसपछि सातौँ दिनमाचाहिँ उहाँले विश्राम लिनुभयो (उत्पति २:१-३) । हामीले सराहना गर्नैपर्छ कि सर आइज्याक न्यूटन जस्ता महान् विद्वानले र अरू थुप्रै विद्वानहरूले पनि सृष्‍टिकर्ता परमेश्वरमाथि विश्वास गरेका छन् । दश आज्ञाको चौथो आज्ञामा पनि सृष्‍टिकर्ता परमेश्वरलाई सातौँ दिनको दिनमा अर्थात् शनिवारको दिनमा आराधना गर्नु भनेर हामीलाई परमेश्वरले आज्ञा दिनुभएको छ । (प्रस्थान २०:८-११) सातौँ दिन शबाथ पालन गर्नु भनेको परमेश्वरलाई सृष्‍टिकर्ता हो भनी स्वीकार गर्नु हो । सातौँ दिन शबाथ नै परमेश्वरको चिन्ह वा छाप हो (इजिकियल २०:१२, २०) ।

२) “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ” (प्रकाश १४:७)

जब हामीले येशूलाई प्रभु र मुक्तिदाता भनी स्वीकार गर्छौं, हाम्रो जीवन त्यहीँ अडेर बस्दैन तर ख्रीष्‍टमा हाम्रो नयाँ जीवनको शुरूआत हुन्छ । पवित्र आत्मा हामीमा आउनुहुन्छ र हाम्रो जीवन ख्रीष्‍टको स्वरूपमा, ईश्वरीय स्वभावमा परिवर्तन हुन थाल्दछ (रोमी १२:२) । पवित्र आत्माको सहायताले हामी आफ्‍नै बाटो हिँड्‍न छोड्छौं र परमेश्वरको पाइला पछ्‌याउँँछौं । किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँको आज्ञा अनि भय मान्छौं ।

परमेश्वरसँग डराउनु भनेको दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहंकार, खराब चालचलन र भड्काउने कुराहरूलाई घृणा गर्नु हो (हितोपदेश ८:१३) । जुन कुरालाई परमेश्वरले घृणा गर्नुहुन्छ त्यसलाई हामीले पनि घृणा गरी त्याग्‍नु हो । आफ्‍नो जिब्रोलाई सम्पूर्ण खराबीबाट अलग राख्‍नु र ओठलाई झूट बोल्‍नबाट अलग राख्‍नु, खराबीबाट फर्केर जे असल छ त्यसलाई स्वीकार गर्नु, शान्तिलाई खोज्‍नु र त्यसकै पछि लाग्‍नु हो (भजनसंग्रह ३४:११-१४) । हाम्रो जीवनलाई परमेश्वरको इच्छा अनुसार चलाउन परमेश्वरलाई हाम्रो हृदय समर्पित गर्नु र उहाँको आज्ञा मान्‍नु हो (उत्पत्ति २२:९-१२) । उहाँको आज्ञालाई कर्तव्यको रूपमा पालन गर्ने होइन तर उहाँको आज्ञा पालन गर्न आनन्दित हुनु हो । परमेश्वरको नाममा वा उहाँको कारणले आउने कष्‍ट र सतावटलाई खुशी साथ स्वीकार गर्नु हो । प्रभुले यसरी भन्‍नुभयो “कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌” (मत्ती १६:२४) । याद गर्नुहोस् यहाँ प्रभुले उहाँको क्रूस बोक्‍नु भन्‍नु भएन तर आफ्‍नो क्रूस बोक्‍नु भनी भन्‍नुभयो । परमेश्वरको भय मान्‍नु भनेको सबै अश्लिल कुरा, मूर्ख बातचित अथवा बेफाइदाका ठट्‌यौली, रीस, क्रोध, डाह, निन्दा, स्वार्थ जस्ता पुरानो स्वभावलाई त्यागेर पापमाथि विजयी हुनु हो (१ यूहन्ना ३:९; १ यूहन्ना ५:४) ।

जब हामी यसरी परमेश्वरको इच्छाअनुसार जीवन बिताउँछौं, पापलाई त्याग्छौं र ईश्वरीय स्वभावमा सहभागी बन्छौं तब हामी ख्रीष्‍टको महिमित स्वरूपमा पुनर्सृष्‍टि भई परमेश्वरलाई महिमा गरेका हुन्छौं । हामीले जुनसुकै खानेकुरा खाएर, पिएर, जस्तोसुकै काम गरेर होइन तर जुन कुराहरूले परमेश्वरको महिमा हुन्छ ती सबै काम गरेर परमेश्वरको महिमा गर्नुपर्दछ । (१ कोरोन्थी १०:३१, मत्ती ५:१४-१६) । परमेश्वरको महिमा गर्नु भनेको उहाँको स्वभाव वा चरित्र हामीमा हुनु हो ।

दोस्रो स्वर्गदूतको सन्देश

प्रकाश १४:८ पदमा दोस्रो स्वर्गदूतको सन्देशमा हामी यस्तो लेखिएको पाउँछौं, “पतन भयो १ जाति जातिलाई आफ्‍नो व्यभिचारको क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो ।”

बेबिलोन शब्द प्राचीन ‘बाबेल’ शब्दबाट आएको हो । जसको अर्थ गोलमाल हो । “बाबेलको धरहरा” बाट नै बेबिलोन हुन गएको हो । जुन कुरालाई हामी उत्पत्ति पुस्तकको १० र ११ अध्यायमा पढ्‍न पाउँछौं । नोआको नाति निम्रोद नै बाबेलको धरहरा बनाउन लगाउने र चलाउने शासक थिए । जलप्रलयपछि बाढीको पानीले नडुबाओस् भनेर गगनचुम्बी अग्‍लो धरहरा बनाउन शुरू गरे तर परमेश्वरले तिनीहरूको भाषालाई गोलमाल पारी दिनुभयो । त्यसकारण धरहरा निर्माण कार्य रोकिन गयो । परमेश्वरले नोआसँग “फेरि जल प्रलयबाट म संसारलाई कहिल्यै पनि नष्‍ट गर्ने छैन” भनी गर्नुभएको प्रतिज्ञाको वचनमाथि अविश्वास गरी परमेश्वरको विरुद्ध गएको कारण परमेश्वरले तिनीहरूको काम रोक्‍न तिनीहरूको भाषालाई खलबल पारिदिनुभयो । तिनीहरूले एक अर्काको भाषा नबुझ्‍ने भए तब तिनीहरूले उक्त धरहरालाई बाबेल वा बेबिलोन नाम दिए । जसको अर्थ गोलमाल अथवा खलबल हो ।

माथिका सबै पतित चरित्र बोकेको गोलमाल र मूर्तिपूजक राज्य बेबिलोनको उदय येशू ख्रीष्‍ट शरीरमा संसारमा आउनुभन्दा करीब ६०० वर्ष पहिले भएको थियो । यो विश्व शक्तिशाली साम्राज्य बेबिलोनले (आधुनिक इराक) परमेश्वरको विरुद्ध घमण्डी, विद्रोही, मूर्तिपुजक र अनाज्ञाकारी भएर परमेश्वरका जनहरूलाई खेदो गऱ्यो (यर्मिया ३९:६-७; ५०:२९, ३१; ५१:२४, ३४, ४७) । वास्तवमा परमेश्वरले पुरानो करारको यशैया पुस्तकको १४ अध्यायमा शैतानलाई नै बेबिलोनको प्रतीकको रूपमा लिनुभएको थियो । किनभने बेबिलोन परमेश्वरको काम र उहाँको जनहरूप्रति अति विरोधी र विध्वंसकारी थियो ।

नयाँ करारको प्रकाश पुस्तकमा “बेबिलोन” शब्द विशेष गरी धार्मिक राज्यलाई जनाउनको लागि प्रयोग गरिएको छ । जुन राज्यचाहिँ परमेश्वरको आत्मिक इस्राएल (उहाँको मण्डली) को शत्रुको रूपमा चित्रण गरिएको छ (प्रकाश १४:८; १६:१९) । प्रकाशको पुस्तकमा वर्णन गरिएको बेबिलोन राज्यचाहिँ नबूकदनेसरको पालाको बेबिलोन शहर होइन किनकि यो शहर यर्मिया ५०:३८ पद अनुसार उजाड वा ध्वस्त भैसकेको छ । प्राचीन बेबिलोनकै जस्तै पापहरूले भरिएको र परमेश्वरको आत्मिक इस्राएललाई खेदो गर्ने भएको हुनाले त्यस शहरसँग तुलना गरिएको वा त्यही बेबिलोन नाम दिइएको हो । यो बेबिलोन चाहिँ मुख्यतया: रोमन क्‍याथोलिक मण्डली हो (प्रकाश १७:५, १८) । त्यो शहर पृथ्वीको सबैभन्दा सानो देश हो, जुन ठाउँबाट अर्थात् भ्याटिकन सिटीबाट पोपले सारा पृथ्वीका क्‍याथोलिक मण्डलीलाई चलाउँदै आएका छन् ।

बेबिलोनको पतन भएको कारण प्रकाश १८:२, ३ पदहरूमा वर्णन गरिएको छ । “यो महानगरी, भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, हरेक अशुद्ध तथा घृणित पंक्षीहरूको अखडा भएको छ । किनभने त्यसको अशुद्ध कामवासनाको मद्यले सारा जातिको पतन भएको छ । पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन् ।” बेबिलोनको मद्य भनेको रोमन क्‍याथोलिक मण्डलीको झूटा शिक्षाहरू हुन् । सबै जातिहरू तथा देश देशका ठूला ठूला नेताहरू त्यसका झूटा शिक्षामा मात्तिइरहेका छन् । आफ्‍नो पति (परमेश्वर) लाई त्यागेर मूर्तिपुजा गर्ने र उहाँको वचनलाई त्यागेर झूटा नियमहरू पालन गरी व्यभिचार गरिरहेका छन् । मरेका सन्तहरूका आत्मा भनेर भूत आत्माहरूको पुजा गर्दछन् । कन्या मरियमको आत्मा र मूर्तिलाई दण्डवत् गरी आराधना गर्दछन् । युकारिष्‍टमा चढाएको रोटी र दाखमद्यलाई जब पूजाहारीले माथि उचाल्दछन् तब त्यो रोटी र दाखमद्य प्रभु येशूको वास्तविक शरीर र रगत बन्छ र त्यसलाई हरेक प्रभु भोजमा उहाँले बलिदान गर्नुहुन्छ भन्‍ने एकदम गलत शिक्षा र प्रथालाई स्थापित गरेका छन् जबकि बाइबलले भन्दछ प्रभु येशूक्षा र प्रथालाई स्थापित गरेका छन् जबकि बाइबलले भन्दछ प्रभु येशू सधैंको निम्ति एकैपल्ट बलि हुनुभयो । परमेश्वरको अपरिवर्तनीय व्यवस्थालाई परिवर्तन गरी आइतवारमा आराधना गर्ने आफ्‍नै नियम बनाइ लागू गरेका छन् । नाबालक बच्‍चाबच्‍चीहरूमाथि पानी छर्केर बप्‍तिस्मा दिने चलन लागू गरेका छन् । माथि उल्‍लेखित सबै घृणित कुराहरूलाई अङ्गागालेर परमेश्वरको सत्य आराधना र शिक्षाबाट विचलित भएर बेबिलोनको पतन भएको छ ।

बेबिलोनलाई बाइबलमा पृथ्वीका वेश्याहरूकी आमा महान् बेबिलोन भनी लेखिएको छ (प्रकाश १७:५) । यसले क्‍याथोलिक मण्डलीको वेश्या छोरीहरू छन् भन्‍ने कुरालाई जनाउँदछ । सबै प्रोटेस्टेन्ट मण्डलीहरू जसले क्‍याथोलिक मण्डलीको झूटा शिक्षाहरूलाई अङ्गालीरहेका छन् ती सबै मण्डलीहरू क्‍याथोलिक मण्डलीका वेश्या छोरीहरू हुन् । किनकि ती मण्डलीहरूले आफूलाई प्रोटेस्टेन्ट भनी जतिसुकै दावी गरेपनि तिनीहरूले क्‍याथोलिक मण्डलीको गलत शिक्षाहरूको मद्य पिइरहेका छन् । क्‍याथोलिक मण्डलीका अगुवाहरू आफैं भन्दछन् कि तिनीहरूको मण्डली आमा मण्डली हो । बिशप कार्डिनल जोशेफ रात्जिङ्गरले (Cardinal, Joseph, Ratzinger) डेली टेलिग्राफ भन्‍ने पत्रिकामा ४ सेप्टेम्बर २००० मा यसरी भनेका थिए: “यो सधैं सम्झना रहिरहोस् कि एक पवित्र, क्‍याथोलिक र सन्देशबाहक विश्वव्यापी मण्डली, दिदी बहिनी मण्डली होइनन् तर सबै मण्डलीहरूकी आमा मण्डली हुन् ।” क्‍याथोलिक मण्डलीको गलत शिक्षाको विरोध अर्थात् प्रोटेस्ट (Protest) गरी सुधारवादी अगुवा “मार्टिन लुथर” ले प्रोटेस्टेन्ट मण्डलीको स्थापना गरेका थिए । धर्मको आन्दोलन गरी क्‍याथोलिक मण्डलीबाट निस्केका तर त्यसका झूटा शिक्षाहरूलाई अझै अंगालिरहेका कारणले ती प्रोटेस्टेन्ट मण्डलीहरू महावेश्या मण्डलीकी (क्‍याथोलिक) वेश्या छोरीहरू (मण्डली) हुन् । मै हुँ भन्‍ने ती कथित प्रोटेस्टेन्ट मण्डलीहरू केही न केही क्‍याथोलिक मण्डलीको झूटा शिक्षामा मातिरहेका पाइन्छन् । तिनीहरू एकपछि अर्को गर्दै आफ्‍नो आमा मण्डलीसँग मिल्‍न गइरहेका छन् । तर केवल बाइबलको शिक्षा र परमेश्वरको आज्ञापालन गर्ने एउटा शेष मण्डली अर्थात् बाँकी रहेको मण्डली हुनेछ । जसले परमेश्वरको दश आज्ञा र येशूको विश्वास कायम राख्‍नेछ। त्यस मण्डलीमा येशूको गवाही वा अगमवाणीको आत्मा (अगमवक्ता) हुनेछ । त्यो एउटा मण्डली जो आफ्‍नो पतिको सत्‌मा पवित्र भई बसेकी हुन्छे त्यसलाई बाइबलले येशूको दुलही भनेर सम्बोधन गरेको छ ।

बेबिलोन भन्नाले ३ वटा संस्थाहरूलाई संकेत गर्दछ।

पतित पोपतन्‍‍त्र: जसलाई हामीले दानिएल ७ अध्याय र प्रकाश १३ अध्यायमा संकेत वा वर्णन गरिएको पाउँछौं । बाइबलले भविष्यवाणी गरेझैँ घातक चोट निको भएको र सारा संसार अचम्मित भएर त्यसको पछि लागेको छ । पोपतन्‍‍त्रको विश्वको राजनीतिमा ठूलो प्रभाव, विचार र सामाजिक मुद्दा चमत्कारपूर्ण रहेको पाइन्छ ।

पतित भएका प्रोटेस्टेन्ट मण्डलीहरू: जुन मण्डलीहरूले क्‍याथोलिक मण्डलीको गलत शिक्षाको जुवालाई बोकीराखेका छन् ।

मूर्तिपुजक धर्महरू: जसको प्रभाव प्राचीनकालदेखि अहिलेको नयाँ युगसम्म पनि विभिन्‍न ढाँचाहरूमा विश्वभर फैलिहरेको छ । परमेश्वरले बेबिलोनको रहस्यमय झूटलाई प्रकाश १८:१-४ पदहरूको स्वर्गदूतको शक्तिद्वारा पूरै पर्दाफास गर्नुभएर आफ्‍ना जनहरूलाई बेबिलोनबाट निस्केर परमेश्वरको पवित्र मण्डलीमा आउन बोलाइरहनु भएको छ ।

तेस्रो स्वर्गदूतको सन्देश

तेस्रो स्वर्गदूतको सन्देशले मानिसहरूलाई त्यो पशु र त्यसको मूर्तिलाई पुज्‍ने र निधार वा हातमा त्यसको छाप लिने कार्यको विरुद्धमा चेतावनी दिन्छ (प्रकाश १४:९-१२) । सन्देश पुरै आराधनाको विषयमा केन्द्रित रहेको छ । परमेश्वरको छाप लिने अथवा पशुको छाप लिने? परमेश्वरको आज्ञा पालन गर्ने वा मान्छेको? पृथ्वीको अन्तिम समयमा, येशू ख्रीष्‍टको दोस्रो आगमन भन्दा केही समय अगाडि सारा संसारको सामु यी दुई विकल्पहरू हुनेछन् । तर कसैले परमेश्वरको आराधना गर्न इन्कार गरी मानिसले बनाएको संसारको पतित धर्मविधिहरू अनुसार पशु (क्‍याथोलिक-मण्डली) र त्यसको मूर्तिलाई (अमेरिकाले बनाउने आइतवारे कानून जुन क्‍याथोलिक धार्मिक नियमको प्रतिलिपि हो ।) आराधना गऱ्यो भने त्यसले परमेश्वरको क्रोधको कडा मद्य (सात विपत्ति) पिउनेछ र अनन्त मृत्युको दण्ड भोग्‍नुपर्नेछ भनी परमेश्वरले चेतावनी दिइसक्‍नुभएको छ । धर्मसंकटको दिन धेरै नजीक आइरहेको छ । परमेश्वरको आज्ञा उल्‍लंघन गराउनको निम्ति शैतानले आफ्‍नो प्रतिनिधिहरूद्वारा झूटा उपासना गर्न मानिसहरूलाई बहकाइरहेको छ । उपासनाकोनाममा मण्डलीहरूमा कराएर, चिच्याएर, झाँक्रीझैँ हल्‍लिएर, हो-हल्‍ला गरी नबुझिने शब्दहरूले आराधना गरी परमेश्वरको महिमा गरेको भन्‍ने गलत आराधनाको प्रचलन फैलिरहेको छ ।

परमेश्वरको छाप के हो? परमेश्वरको छापलाई परमेश्वरको मोहर वा पवित्र आत्माको छाप भनेर पनि भनिएको छ । कुनै पनि आधिकारिक वा सरकारी कागजपत्रमा त्यसलाई मान्यतादिन कार्यालयको छाप लगाइएको हुन्छ । त्यसमा कार्यालयको नाम, कार्यालय चलाउने व्यक्तिको नाम र पद उल्‍लेख गरिएको हुन्छ । त्यसपछि त्यो कागजपत्र आधिकारिक हुन्छ । जसरी हामीले लेखेको चिठीपत्रमा कर्मचारीले हुलाक टिकट टाँसगरी गन्तव्य स्थानतर्फ पठाउन छाप लगाउँछन्, ठीक त्यसरी नै अन्तिम समयसम्म तयार भएर बस्‍नेहरूलाई स्वर्ग जानको लागि परमेश्वरका चुनिएका जनहरूमाथि परमेश्वरको छाप लगाइनेछ । परमेश्वरको छाप वा चिन्ह भनेको परमेश्वरको नाम हो (प्रकाश १४:१) अनि परमेश्वरको नाम भनेको परमेश्वरको चरित्र हो (मत्ति १:२१) । त्यसकारण परमेश्वरको छाप भनेको ख्रीष्‍टको चरित्र हो । ख्रीष्‍टको चरित्रको प्रतिलिपि दश आज्ञा, उहाँको व्यवस्था हो । परमेश्वरको छाप व्यवस्थासँग गाँसिएको छ (यशैया ८:१६) । परमेश्वरको छाप हामीले दश आज्ञाको चौथो आज्ञामा पाउँछौं ।

बाइबल अनुसार कुनैपनि छापमा ३ वटा कुराहरू अनिवार्य हुन्छन् । १) नाम २) पद ३) क्षेत्र (कार्यालय) (एस्तर ३:१२, १३; ८:८) यी ३ वटै कुराहरू हामीले दश आज्ञाको चौथो आज्ञामा पाउँछौं ।’

1. व्यवस्था दिनेको नाम: “परमप्रभु” 2. व्यवस्था दिनेको पद: “सृष्टिकर्ता” 3. व्यवस्था दिनेको राज्य वा क्षेत्र: “स्वर्ग, पृथ्वी, समुद्र र त्याहाँ भएका सम्पूर्ण थोकहरू” (प्रस्थान २०:८-११)

त्यसकारण चौथो आज्ञा शबाथ दिनलाई पवित्र राख्‍ने सहित सबै आज्ञाहरूको पालन गर्नु नै परमेश्वरको छाप लिनु हो । सातौं दिन शबाथ सहित परमेश्वरको व्यवस्थालाई पालन गर्नु नै हामी उहाँका हौं भन्‍ने चिन्ह वा छाप हो । (इजकिएल २०:१२, २०) तर परमेश्वरको अपरिवर्तनीय व्यवस्थालाई (मत्ती ५:१७, १८) क्‍याथोलिक मण्डलीले परिवर्तन गरेको छ । जुन कुरा दानिएल अगमवक्ताद्वारा दानिएल ७:२५ पदमा परमेश्वरको व्यवस्थालाई कुनै धार्मिक शक्तिद्वारा परिवर्तन गरिनेछ भनी अगमवाणी गरिएको थियो । क्‍याथोलिक मण्डलीले चौथो आज्ञामा लेखिएको “सातौं दिन चाहिँ परमप्रभु तिमीहरूका परमेश्वरका निम्ति शबाथ दिन हो” भन्‍ने शब्दहरूलाई हटाएर सातौं दिन प्रभुको दिनलाई हप्‍ताको पहिलो दिन आइतवारको दिनमा सारेको छ । यो कुरालाई क्‍याथोलिक मण्डलीका पोपले निर्लज्‍जताका साथ स्वीकारेका छन् । पोपले परमेश्वरको व्यवस्था र समयलाई फेरवदल गर्ने हक छ भनी दाबी गर्दछन् । उनले बदली गरिएको दिन, हप्‍ताको पहिलो दिन आइतवार नै पोपको चिन्ह अर्थात् पशुको चिन्ह वा छाप हो । पृथ्वीको अन्तिम समयमा, येशूको दोस्रो आगमनको केवल केही समय अगाडि पशुको त्यो चिन्ह (आइतवार) लिन मानिसहरूलाई कर लगाइनेछ भनेर प्रकाशको पुस्तकले स्पष्‍ट बताउँदछ ।

परमेश्वरको छाप व्यक्तिको हृदय वा मनमा उहाँले पवित्र आत्माद्वारा लगाउनुहुनेछ जुन छाप हामीले देखिने गरी शरीरमा लगाइने चिन्ह होइन । त्यसैगरी पशुको छाप पनि देखिने गरी व्यक्तिको निधार र हातमा लगाइने बाहिरी कुनै निशानी होइन । जब कुनै व्यक्तिले पशुले परिवर्तन गरेको आइतवार शबाथलाई पालन गर्न मन र मस्तिष्कले स्वीकार गर्छ र त्यही अनुसार आइतवार विश्राम गरी शनिवारचाहिँ काम गर्दछ भने उक्त व्यक्तिले पशुको छाप निधार वा हातमा लिएको ठहरिन्छ । पशुको छाप लिनेभित्र पनि दुई समूह हुनेछन् । पहिलो समूह जसको निधारमा पशुको छाप लागेको हुन्छ तिनीहरूले शबाथ दिन आइतवार हो भनी हृदयदेखि नै स्वीकार गरेका हुन्छन् । दोस्रो समूह जसको दाहिने हातमा पशुको छाप लगेको हुन्छ तिनीहरूले आइतवार नै प्रभुको शबाथ दिन हो भनी मनदेखि स्वीकार गरेका हुँदैनन् तर बाध्यतावश वा जवरजस्ती त्यसलाई पालनगरेका हुन्छन् । किनकि त्यो छाप नभई कसैले पनि किनबेच गर्न पाउने छैनन् । तर परमेश्वरको छापचाहिँ उहाँको जनहरूको निधारमा मात्रै लगाएको हुन्छ किनभने परमेश्वरले कहिले पनि जवरजस्ती गर्नुहुँदैन । पशुले परिवर्तन गरेको दिन, आइतवारलाई पालन गरी सातौं दिनमाचाहिँ काम गराई शबाथ भङ्ग गराउनको निम्ति शैतानले परमेश्वरका जनहरूलाई भ्र्रममा पार्न विभिन्‍न छलहरू प्रचारमा ल्याइसकेको छ । खानेकुराको प्याकेटबाहिर र लगाउने टिशर्टहरूमा छापिएको ६६६ अंक पशुको छाप हो भनी गलत प्रचार गराइरहेको छ । त्यस्तैगरी ६६६ अंक पशुको चिन्ह वा छापचाहिँ कम्प्युटर चिप वा हातको छाला भित्र राखिने माइक्रो चिप हो र जसले त्यो चिपलाई अफ्‍नो शरीरमा राख्दछ त्यसले पशुको चिन्ह लगाएको हुन्छ भनी गलत प्रचार प्रसार फैलाइसकेको छ । विकसित मुलुकहरूमा, युरोपियन र अमेरिकन देशहरूमा कामदारहरूलाई हातको छाला भित्र कम्पनीले माइक्रो चिप हाल्‍न शुरू भैसकेको छ तर त्यो पशुको चिन्ह भने होइन । शबाथ दिन शनिबार नै परमेश्वर र हामी बीचको सम्बन्धको चिन्ह हो भने शनिबार शबाथलाई सूर्यको पूजा गर्ने दिन आइतवारमा पशुद्वारा सारिनु पशुको चिन्ह वा छाप हो ।

previous
अघिल्लो
अर्को
previous
chat