bookइतिहासका अन्तिम पानाहरू
भविस्यवाणी भित्र अमेरिका
प्रकाश १३:१-१०

भविस्यवाणी भित्र अमेरिका

“अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें । त्यसको पनि थुमाका जस्तै दुईवटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो ।” प्रकाश १३:११ ।

यो थुमाको जस्तै दुईवटा सीङ भएको पशुले संयुक्त राज्य अमेरिकालाई जनाउँदछ । बाइबलीय भविष्यवाणीको आश्‍चर्यपूर्ण सन्देशमा अमेरिका देश पर्दछ भनी थाहा पाउँदा तपाईंले अचम्म मान्‍न सक्‍नुहुन्छ । निसन्देह पृथ्वीको आश्‍चर्यपूर्ण अन्तिम घटनाहरूमा अमेरिका राष्‍ट्रले मुख्य भूमिका खेल्‍नेछ । यूहन्‍नाले यस राज्यलाई पहिलो पशु (पोपतन्‍‍त्र) कैदमा गइरहेको समयमा, सन् १७९८ तिर उदय भइरहेको र पृथ्वीबाट आइरहेको देखेका थिए ।

पृथ्वीले मानिसहरूको एकदम कम जनसंख्या भएको ठाउँलाई जनाउँदछ । भिन्‍नता यो छ कि, पहिलेका सबै पशुहरू अर्थात् साम्राज्यहरू समुद्रबाट अर्थात् मानिसहरूको बाक्‍लो जनसंख्या भएको ठाउँबाट निस्किआएका थिए (प्रकाश १७:१५) । पहिलेका सम्पूर्ण साम्राज्यहरू बाक्‍लो जनसंख्या भएको ठाउँ: यूरोप र एशिया महादेशहरूबाट उदय भएका थिए तर पृथ्वीले त्यसको विपरीत थोरै जनसंख्या भएको ठाउँलाई जनाउँदछ । अमेरिका राष्‍ट्रको उदय उत्तरअमेरिका महादेशको नयाँ संसारबाट भयो, जुन महादेशचाहिँ उजाड महादेश अर्थात् मानिसहरूको एकदम कम बसोबास भएको ठाउँ थियो ।

दुई वटा सीङ भएको “भेंडाको पाठोले” शान्तिप्रेमी र आध्यात्मिक, निर्दोष र तन्‍नेरी वा युवा अवस्थालाई संकेत गर्दछ । सन् १७९८ मा अमेरिका केवल २२ वर्षको थियो । किनभने सन् १७७६ मा अमेरिकाले आफ्‍नो स्वतन्‍‍त्रताको घोषणा गऱ्यो । सन् १७८६ मा संवैधानिक चुनाव गरी सन् १७९१ मा अधिकारहरूको प्रस्तावित कानूनहरू लागू गऱ्यो र सन् १७९८ बाट स्वतन्‍‍त्र विशाल राष्‍ट्रको रूपमा विश्वमा चिनिएको थियो । तर पहिलेका अरू सबै पुराना राष्‍ट्रहरूले भने धर्मप्रधान राज्यलाई सहयोग गर्नका लागि मानिसहरूलाई कर लगाएका थिए तर अमेरिकाले नागरिक स्वतन्‍‍त्रता (गणतन्‍‍त्रवाद) र धार्मिक स्वतन्‍‍त्रता (प्रोटेस्टेन्टवाद) जस्ता नयाँ सिद्धान्तलाई पूर्णरूपमा स्थापना गऱ्यो ।

थुमाकोजस्तै दुई वटा सीङ भएको पशुले अमेरिका बाहेक पृथ्वीमा अरू कुनै राष्‍ट्रलाई देखाउँदैन । यो राष्‍ट्र बाहेक अरू कुनै राष्‍ट्रसँग यो घटनाक्रम मिल्दैन । थुमाकोजस्तै दुईवटा सीङहरूले अमेरिकाको राज्य चलाउने दुईवटा शक्तिहरू वा सिद्धान्तहरू: नागरिक स्वतन्‍‍त्रता (गणतन्‍‍त्रवाद) र धार्मिक स्वतन्‍‍त्रता (प्रोटेस्टेन्टवाद) लाई जनाउँदछ ।

“गणतन्‍‍त्रवाद” भनेको राजा विनाको राज्य जसको सरकार बहुमतद्वारा चुनिएको हुन्छ र अल्पमत माथि नागरिक अधिकारको आदर र संरक्षण गरी राज्य चलाइएको हुन्छ । अनि “प्रोटेस्टेन्टवाद” भनेको पोपविनाको मण्डली, जहाँ आफ्‍नो व्यक्तिगत इच्छा र विवेक अनुसार आराधना गर्ने अधिकार सबैलाई दिइएको हुन्छ । मण्डली र राज्य अलग रहने सिद्धान्त अर्थात् आराधना गर्ने कुरामा राज्यले मण्डलीमाथि हस्तक्षेप नगर्ने यी दुई आधारभूत सिद्धान्त नै अमेरिकाको राज्य प्रणालीको प्रमुख शक्तिहरू हुन् । दुर्भाग्यवश्, भविष्यवाणी अनुरूप अमेरिकाले आफ्‍नो आधारभूत सिद्धान्तलाई अन्त्यमा त्याग्‍नेछ र अजिङ्गर जस्तै बोल्‍नेछ (प्रकाश १३:११) । त्यसपछि अमेरिकाले, पहिलो पशुलेजस्तै अर्थात् पोपतन्‍‍त्रलेजस्तै काम गर्नेछ (प्रकाश १३:१२) । जसरी पोपतन्‍‍त्रले परमेश्वरका जनहरूलाई आफ्‍नो इच्छा विरुद्ध आराधना गर्न जवरजस्ती गरेका थिए र उसको आज्ञा विरुद्ध जानेलाई खेदो गरेका थिए ठीक त्यस्तै अमेरिकाले पनि गर्नेछ । अब अमेरिका शान्तिप्रेमी र अध्यात्मिक राष्‍ट्र होइन तर खेदो गर्ने राष्‍ट्र बन्‍नेछ । त्यसले पहिलो पशु (क्‍याथोलिक मण्डलीको सिद्धान्त वा धार्मिक नियमहरू) लाई पूजा गर्न लगाउनेछ । यो पशु त्यही पशु हो जसलाई सन् १७९८ मा घातक चोट लागेको थियो जुन घातक चोट क्रमिक रूपमा निको भइरहेको छ । आफू शक्तिशाली बन्‍न वा आफ्‍नो अधिकारको वृद्धि गर्न त्यो पहिलो पशुले ठूला-ठूला चमत्कार र अद्‌भूत कामहरू गर्नेछ जसले पृथ्वीका बासिन्दाहरूलाई धोका दिनेछ र भ्रममा पार्नेछ । “मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गऱ्यो। पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो ।” प्रकाश १३:१३-१४ । त्यस्ता चमत्कारहरूद्वारा पशुको मूर्ति बनाउनै पर्नेछ र त्यस्ता काम गरे बापत परमेश्वरको आशिष तिनीहरूमाथि पर्नेछ भनेर मानिसहरूलाई विश्वस्त पार्नेछ ।

चर्च र राज्य अलग रहने अमेरिकाको सिद्धान्त

“तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा प्रतिमूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो ।” (प्रकाश १३:१४) । यो त्यही पशु हो जसलाई सन् १७९८ मा चोट लागेको थियो अर्थात् रोमी पोपलाई फ्रान्सका शासक नेपोलियनद्वारा बन्दी बनाइ अधिकार खोसिएको थियो । तर सन् १९२९ मा फेरि नयाँ पोपको चयन भए पश्‍चात् त्यस पशुले आफ्‍नो शक्ति पायो र त्यसको घातक चोट निको हुन थाल्यो ।

“स्वतन्‍‍त्र समाजको निम्ति चर्च र राज्यको बिचमा पर्खाल हुन अति आवश्यक छ ।”

थोमस जेफरसन १८०८ (अमेरिकाको तेस्रो राष्ट्रपति)

अमेरिकाले पोपतन्‍‍त्रको धार्मिक नियमहरूको हुबहु नक्‍कल गरेर पशुको प्रतिमूर्ति बनाइ आराधनाको त्यस धार्मिक नियमलाई पालन गर्न कर लगाउनेछ । त्यस धार्मिक नियममा आइतवार आराधना गर्ने दिन मुख्य हुनेछ । तर आइतवारचाहिँ बाइबल अनुसार आराधना गर्ने दिन “प्रभुको दिन” होइन । तैपनि अमेरिकाले त्यही आइतवारे नियमलाई पालन गर्न मानिसहरूलाई जबरजस्ती गर्नेछ । जसले त्यस आज्ञालाई परमेश्वरको आज्ञालाई भन्दामाथि राखेर त्यसको पालन गर्दछ उसले पशुको पूजा गरेको ठहरिन्छ । त्यसलाई नै बाइबलले पशुको मूर्ति बनाउनु र त्यस मूर्तिलाई पूजा गर्न लगाउनु भनी भनेको हो (प्रकाश १३:१२) । ती नियमहरूको पालन नगर्ने मानिसहरूलाई अमेरिकाले मृत्युदण्डको घोषणा गरी मृत्युको सामना गर्न सशक्त दबाब दिनेछ । यो काम चर्च र राज्यको मिलेमतोमा हुनेछ । त्यही काम पोपतन्‍‍त्रले मध्य युगमा वा अन्धकारको युगमा मानिसहरूलाई आफ्‍नो आस्था विरुद्ध पोपतन्‍‍त्रीय आइतवारे कानून मान्‍न जबरजस्ती गरेको थियो र उसको कानून नमान्‍नेलाई विभिन्‍न यातना दिने र मार्ने गरेको थियो । १२६० वर्षको समयावधिमा पोपतन्‍‍त्रद्वारा करीब ५ करोड परमेश्वरका जनहरूलाई मारिएको थियो । मानिसले बनाएको यो धार्मिक सिद्धान्त (Dogma) लाई समर्थन र पालन गराउन अमेरिकाले राज्य शक्तिद्वारा बल प्रयोग गर्नेछ । यो चाहिँ चर्च र राज्य अलग रहने अमेरिकाको प्रमुख सिद्धान्तको ठाडै उल्‍लङ्‌घन हो । चर्च र राज्य मिलेर चलाएको अधिकार र सिद्धान्तहरूको पालन नगर्ने माथि त्यसले पक्‍कै पनि ठूलो सतावट र खेदो गर्नेछ । पशुको मूर्तिलाई नपुज्‍नेहरूलाई अर्थात् अमेरिकाले बनाउने पोपतन्‍‍त्रीय रोमको धार्मिक नियमहरूको प्रतिलिपि, आइतवारे कानूनको पालन नगर्नेहरूमाथि मृत्युदण्डको आदेश जारी गर्नेछ । “त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्‍न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्‍नेहरू मारिऊन् ।” प्रकाश १३:१५ । आइतवारे कानूनलाई पालन गराउन सबै ठाउँमा लागू गर्नुपूर्व अमेरिकाले आफ्‍नै देशमा लागू गर्नेछ ।

क्‍याथोलिक धर्मको कानून नम्बर १४३६ मा यस्तो लेखिएको छ, “क्‍याथोलिक मण्डलीका पवित्र विश्वास र शिक्षाहरूलाई इन्कार गर्नेहरूलाई चेतावनी दिइए तापनि नमान्‍नेहरूलाई “धर्म विरोधी” भनी तिनीहरूलाई मण्डलीबाट निकालिनेछ र सजाय पनि दिइनेछ ।” “The Roman Catholic Religion viewed in the light of Prophecy and History”, New York, Charles K. Moore, 1843, page 97.

त्यसकारण आइतवारे कानूनको पालन नगर्नेहरूलाई यी कानून अनुसार “धर्म विरोधी” को संज्ञा दिएर किसीम-किसीमले सतावट दिने (जरीवाना लगाउने, सन्तहरूको धरजग्ग कबजा गर्ने, कलकारखाना चलाउन नदिने तथा फ्यालखानामा हाल्‍ने इत्यादि) तथा अन्त्यमा गएर मृत्युदण्ड सम्मको सजाय दिइनेछ । “अनि त्यसले साना र ठूला, धनी र गरिब, फुक्‍का र कमारा सबैलाई तिनीहरूको दाहिने हात वा निधारमा छाप लगाउन लायो । त्यो छाप नभइकन कसैले पनि किनमेल गर्न नपाउने भयो” (प्रकाश १३:१६, १७) । आइतवारचाहिँ परमेश्वरको पवित्र शबाथ, विश्राम दिन हो । त्यस दिनमा कुनै प्रकारको व्यवसाय र किनबेच गर्नुहुँदैन । स्कूल, क्‍याम्पस, कलकार-खाना, सरकारी तथा निजी क्षेत्रका सम्पूर्ण कार्यालयहरू बन्द गर्नैपर्छ । इसाईहरूले प्रत्येक आइतवार चर्चमा गएर आराधना गर्नुपर्छ भनी अमेरिकाले आइतवारे कानूनलाई पालन गर्न अमेरिकादेखि विश्वभर कडाईका साथ लागू गर्नेछ । त्यसलाई पालन गर्नुलाई नै पवित्र बाइबलले “पशूको छाप (चिन्ह) निधार वा हातमा लिनु” भनेर भन्दछ । किनकि कुनै पनि कुरालाई वा सिद्धान्तलाई कुनै पनि व्यक्तिले पहिले हृदय वा मस्तिष्कद्वारा स्वीकार गर्छ । त्यसपछि हातद्वारा कामगरी पालन गर्छ । त्यो पशुको छाप चाहिँ आइतवार शबाथ हो ।

“पशुको छाप” निधार वा हातमा लगाएको बाहिरी रूपले देखिदैन तर उसको बोली र कामबाट प्रकट हुन्छ । जब कुनै व्यक्तिले मानिसले बनाएको आइतवार शबाथलाई पालन गर्छ तर सातौँ दिन शबाथलाई पालन गर्ने परमेश्वरको आज्ञालाई उल्‍लङ्‌घन गरी त्यस दिनमाचाहिँ काम गर्दछ भने त्यस व्यक्तिले आफ्‍नो निधारमा र हातमा पशुको छाप लगाएको ठहरिन्छ ।

सर्वप्रथम सन् ३२१ मा कन्सटेन्टाइनद्वारा तत्कालीन चर्चका अगुवाहरूलाई आइतवार शबाथ बनाउने आदेश दिइएको थियो । त्यसको रेकर्ड तल दिइएको छ । “सम्पूर्ण न्यायधीशहरू र शहरका मानिसहरू, सबै व्यवसाय गर्ने व्यापारीहरूले सूर्यको सम्मानित दिनमा विश्राम गर्नु” । ७ मार्च सन् ३२१ को घोषणा । Corpus Juris Civilis cod; lib-3, tit-12, lex-3

सातौँ दिन शनिवार शबाथलाई क्‍याथोलिक चर्चले सन् ३६४ बाट हप्‍ताको पहिलो दिन, सूर्यको पूजागर्ने दिन आइतवारमा सारेर, त्यस दिनलाई प्रभुको दिन शबाथ दिन बनायो । यो कुरालाई क्‍याथोलिक चर्चले निर्लज्‍जताका साथ स्वीकार गर्दछ । यो कुरालाई, The Converts Catechisms Of Catholic Doctrine, PG 50, third edition मा हेर्न सकिन्छ । क्‍याथोलिक चर्चको पोपले परमेश्वरको व्यवस्था र समयलाई बदली गर्ने हक छ भनेर दाबी गर्दछ । उसको बदली गरिएको दिन आइतवार पोपतन्‍‍त्रको चिन्ह वा पशुको चिन्ह वा छाप हो । येशूले अमेरिकामा रहेको पतित प्रोटेस्टेन्ट मण्डलीहरूलाई अन्तिम समयमा “झूटो भविष्यवक्ता” भनेर सम्बोधन गर्नुहुन्छ (प्रकाश १९:२०) । किनभने यो आत्मिक र विश्वासयोग्य देखिनेछ तर यसको आचारणमा शैतान हुनेछ । धेरैलाई माथि उल्‍लेख गरिएका भविष्यवाणीहरू असम्भव लाग्‍न सक्छ तर परमेश्वरका वचनहरू सधैं पूर्णरूपमा विश्वासयोग्य र सत्य छन् ।

येशूले आफ्‍ना जनहरूलाई “जागा रहो र प्रार्थना गर” भनी भन्‍नुभएको छ । यदि कोही व्यक्ति येशूको आज्ञाअनुसार जागा भई बसेको छ भने अर्थात् बाइबलका अन्तिम समयका भविष्यवाणीका सम्पूर्ण वचनहरूलाई संसारको वर्तमान घटनाहरूसँग दाँजेर हेरिरहेको छ भने त्यसले पक्‍कै पनि अन्तिम समयको भवष्यवाणीलाई पूरा भइरहेको सयौं प्रमाणहरूलाई देख्‍न सक्‍नेछ । सुधारवादी धर्मगुरु मार्टिन लुथरले क्‍याथोलिक मण्डलीबाट अलग भई प्रोटेस्टेन्ट मण्डलीको स्थापना गरेका थिए । प्रोटेस्टेन्ट सुधारवादी आन्दोलनले विश्वव्यापी रूप लियो । त्यसपछि नै विश्वभरी विभिन्‍न प्रोटेस्टेन्ट मण्डलीहरूको स्थापना हुँदै आइरहेको थियो तर केही वर्षदेखि नै पोप फ्रान्सिसले (वर्तमान पोप) सबै प्रोटेस्टेन्ट मण्डलीहरूलाई एकताको निम्ति Ecumenical Meeting एकताको बैठकमा बोलाइरहेका थिए । क्‍याथोलिक मण्डलीबाट अलग भएको ५०० वर्षपछि ३१ अक्टोवर २०१७ देखि लुथरन मण्डली र अमेरिकाको सबै ठूला प्रोटेष्‍टेन्ट मण्डलीहरू क्‍याथोलिक मण्डलीसँग आधिकारीक रूपमा एक भएका छन् ।

त्यसैगरी पोप फ्रान्सिसले हरेक धर्मका धर्मगुरुहरूसँग पनि भेटघाट गरिरहेका छन् । मुस्लिम धर्मगुरुसँग, जैन धर्मगुरुसँग, बौद्ध धर्मगुरुसँग र हिन्दु धर्मगुरुसँग पनि भेटघाट गरिसकेका छन् । केही समय अगाडि मात्रै पहिलो पटक भ्याटिकन सिटीभित्र मुस्लिम धर्मगुरुहरूले कुरान खोलेर पोपसँगै सामूहिक आराधाना गरेका थिए र पोप फ्रान्सिसले कुरानलाई चुम्बन गरेका थिए । सारा संसारमा शान्ति र एकता ल्याउनलाई एउटै धर्म र एउटै नियम बनाउने प्रयत्नमा पोप फ्रान्सिस लागीपरेका छन् । पोप फ्रान्सिस र अमेरिकाको राष्‍ट्रपति डोनाल्ड ट्रम बीच भेटवार्ता भएको थियो । पोपले अमेरिकाको प्रतिनिधि सभालाई पनि सम्बोधन गरेका थिए । अमेरिकाको इतिहासमा यो पहिलो पटक भएको हो ।

पोपको मुख्य एजेण्डा जलवायु परिवर्तन (climate change) भन्‍ने विषयमा विश्वका ठूला शक्तिशाली राष्‍ट्रप्रमुखहरूको पटक-पटक बैठक बसिरहेको छ । विश्वका राजनैतिक शक्तिहरू आफ्‍नो शक्ति प्रर्दशन गर्ने चरमसीमामा पुगेका छन् । युद्ध र युद्धका हल्‍लाहरू बढिरहेका छन् । त्यस्तैगरी चीन, भारत, रसिया, इराक, इरान जस्ता शक्तिशाली राष्‍ट्रहरूको आणविक हातहतियारहरू बनाउने होडबाजी र आणविक हातहतियारहरूको प्रर्दशन तथा अफगानिस्तान, सिरिया र खाडी मुलुकहरू बीचको मनमुटाव, युरोपियन मुलुकहरूमाथि इस्लामिक आतंकवादी समूह ISIS को पटक-पटक आतंककारी हमलाहरूले संयुक्त राष्‍ट्रसंघ र शक्तिशाली राष्‍ट्रहरूका राष्‍ट्रप्रमुखहरूको निद हरण भएको छ । विद्यमान ती समस्याहरूको समाधान खोज्‍न अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्प प्रत्येक हप्‍ता प्रोटेस्टेन्ट चर्चहरूका धर्मगुरुहरूसँग ह्‌वाइट हाउसमा बाइबल अध्ययन पनि गर्दै आइरहेका छन् ।

विश्वका विद्यमान संकटहरू: प्राकृतिक प्रकोप, अनैतिकता र आतंकवाद, गरिबी, अशान्ति, आणविक हतियार बनाउने होडबाजी र युद्धका हल्‍लाहरू, यी सबै संकटहरूबाट विश्वलाई मुक्त पारेर शान्ति स्थापना गर्न आइतवार पवित्र राख्‍नु पर्छ भनी पोप फ्रान्सिसले पटक-पटक आवाज उठाइरहेका छन् ।https://amazingdiscoveries.org/S-deception-unity_Sunday_legislation_global_law त्यसरी नै कथित प्रोटेस्टेन्ट ठूला मण्डलीहरूले पनि पोपको एजेण्डा आइतवार पवित्र राख्‍ने कुरामा सहमति जनाइसकेका छन् । यी सम्पूर्ण कुराहरूलाई हेर्दा आइतबारे कानून एकदम नजीक देखिन्छ । के तपाईंले यसबारेमा कहिल्यै सोच्‍नु भएको छ? छैन भने आजैदेखि सोच्‍नुहोस् र आइतवारे कानूनसँग कसरी मुकाबिला गर्ने त्यसबारे विचार गर्नुहोस् । अमेरिका लगायत अरू मुलुकहरूले पनि आइतवारे कानून र अरू कडा कानूनहरू बनाएर कडाइका साथ लागू गर्न बाध्य हुनुपर्ने संभावित कारणहरू: प्राकृतिक प्रकोप, शक्तिशाली राष्‍ट्रहरूको आणविक हातहतियार बनाउने होडबाजी र युद्धको धम्की, एच। आई। भी। एड्‍स, इबोला भाइरस जस्ता प्राणघातक नयाँ-नयाँ रोगहरूको संक्रमण र उपचार नहुनु, विश्वमा आर्थिक मन्दि, गरिबी, आतंककारी क्रियाकलापहरू, दंगाहरू, अपराध बढ्‍नु, गर्भपात संकट, परिवार टुट्‍नु, सम्बन्धविच्छेद (डाइभोर्स) बढ्‍नु, राजनैतिक भ्रष्‍टाचार, न्यायलयहरूले न्याय दिन नसक्‍नु, छाडा चलचित्रहरू र जङ्गलीपनको वृद्धि, लागु पदार्थ र ड्रग्स सेवन, अपहरण बढ्‍नु, अन्याय र अशान्ति, समलिङ्गी विवाह ... आदि संकटहरूले सारा संसार संक्रमित भएर नाजुक बन्‍नेछ तब धर्मगुरुहरू र राष्‍ट्रप्रमुखहरूलेएउटै मात्र विकल्पको रूपमा पोपले भविष्यवाणी गरेको आइतवारे कानूनलाई रोज्‍नेछन् । White, E.G. "The Last Crisis", Testimones for the Church Volume 9, 1909, pg 11-18 https://amazingdiscoveries.org/S-deception-unity_Sunday_legislation_global_law

तर वकीलहरू, कानूनविद्‍हरू र सभासदहरूले संविधान सभाबाट सजिलै आइतवारे कानूनलाई पारित गर्दैनन् । तर जसरी केही समय अगाडिमात्र अमेरिकामा समलिङ्गी विवाहको कानूनलाई पारित गराउन सर्वसाधारण जनताहरू सडकमा उत्रेका थिए ठीक त्यसरी नै यो आइतवारे कानूनलाई पारित गराउन पनि चौतर्फी दवाब र सर्वसाधारण जनताहरू नै सडकमा उत्रनेछन् र त्यसमा मुख्य भूमिका मजदुर संगठनहरूले खेल्‍नेछन् । त्यसपछि आइतवारे कानूनलाई अमेरिकाले पारित गर्नेछ र समग्र विश्वमा यो फैलिनेछ । जसले यो कानूनलाई पालन गर्दैन उसले देशको कानून मुताविक सजाय भोग्‍नु पर्ने हुन्छ ।

previous
अघिल्लो
अर्को
previous
chat