bookइतिहासका अन्तिम पानाहरू
२३०० दिनहरु 
र ७० हप्ताहरुको अगमवाणी

२३०० दिनहरु र ७० हप्ताहरुको अगमवाणी

“अनि तिनले मलाई भने: दुई हजार तीन सय दिनसम्म त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ ।” दानिएल ८:१४ KJV । “शुद्ध” भन्‍ने यो शब्द “छानबीन” र “धार्मिकता” शब्दहरूसँग सम्बन्धित छ । हामीले दानिएल ८ अध्यायलाई २ भागमा विभाजन भएको पाउँछौं । दानिएल ८:१-१४ सम्म हामीले ऐतिहासिक संकेत र २३०० दिनको अगमवाणी पाउँछौं र दानिएल ८:१५-२७ पदहरूमा अगमवाणीको अर्थ खोलिएको पाउँछौं । दानिएल ८ अध्यायको ऐतिहासिक संकेतहरू र घटनाहरू: “भेंडा” ले “मादी र फारसी” साम्राज्यलाई जनाउँदछ । यो साम्राज्यले ई.पू. ५३९ देखि ई.पू. ३३१ सम्म राज्य गरेको थियो । त्यसपछि “बोका” अर्थात् “ग्रीस” साम्राज्यले ई.पू. ३३१ देखि ई.पू. १६८ सम्म र ई.पू. १६८ देखि सन् ४७६ सम्म “दश वटा सीङहरू भएको भयङ्कर र डरलाग्दो” पशुले अर्थात् प्राचीन मूर्तिपूजक रोमले सारा पृथ्वीमा राज्य गरेको थियो । त्यसपछि “सानो सीङ” अर्थात् पोपतन्‍‍त्रले चर्च र राज्य मिलेको क्‍याथोलिक चर्चले सन् ५३८ देखि सन् १७९८ सम्म १२६० वर्ष परमेश्वरका जनहरूमाथि प्रभुत्व जमाएको थियो।

परमेश्वरले दानिएललाई २३०० दिनहरूपछि पवित्रस्थानलाई शुद्ध पारिनेछ भनी भन्‍नुभयो । यहाँ २३०० दिनहरू अगमवाणीका दिनहरू हुन्, तर शाब्दिक दिनहरू होइनन् । यदि २३०० दिनहरू शाब्दिक दिनहरू हुन् भने त्यो केवल लगभग ६ शाब्दिक वर्षहरू हुनेछन् । त्यहाँ परमेश्वरले भन्‍नुभएको “पवित्रस्थानलाई शुद्ध पारिने” भन्‍ने काम ६ वर्षपछि भएको थिएन । परमेश्वरले यो अगमवाणी अन्त्यको समयको अगमवाणी हो भनी दानिएल अगमवक्तालाई भन्‍नुभएको थियो । मादी र फारसी साम्राज्यले मात्रै ६ शाब्दिक वर्ष भन्दा धेरै बढी बर्षहरूसम्म राज्य गरेको थियो । त्यसकारण २३०० दिनहरू यहाँ शाब्दिक दिन नभई अगमवाणीको दिन हुनैपर्दछ । २३०० दिनहरू भनेको २३०० वर्षहरू हुन् । किनकि अगमवाणीको समय १ दिनले १ वर्षलाई जनाउँदछ (इजकिएल ४:६; गन्ति १४:३४; उत्पत्ति २९:२७) ।

दानिएल ८:१४ पदमा दिइएको २३०० दिनहरू अगमवाणीको अर्थ दानिएल ९:२०-२७ पदहरूमा गाव्रिएल स्वर्गदूतद्वारा खोलिएको पाउँछौं । “तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति ७० हप्‍ताहरू निर्धारण गरिएको छ ।” दानिएल ९:२४ । यहाँ “निर्धारण गरिएको” शब्दको अर्थ कटौती गरिएको हो । त्यसकारण २३०० वर्षबाट ४९० वर्षलाई कटौती गर्नुपर्दछ । किनकि ७० हप्‍ता भनेको ४९० दिन (७०x७ = ४९०) र ४९० दिन भनेको ४९० वर्ष हो । (१ दिन = १ वर्ष) यी दुवै भविष्यवाणी एउटै भविष्यवाणी हुन् । दर्शनको कारण दानिएल अगमवक्ता बेहोस् र विरामी भएका थिए । त्यसैले गाव्रिएल स्वर्गदूतले यो भविष्यवाणी २ पटक गरेर दिएका थिए । त्यसकारण दुवै भविष्यवाणीहरू ४९० वर्षहरू र २३०० वर्षहरूको समयावधि एकै समयबाट शुरू हुनैपर्दछ ।

अर्तासास्तको आदेश

फारसका राजाहरू दारा र कोरेसले अर्तासास्तभन्दा पहिले नै यरूशलेमको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गरेका थिए। पछि राजा अर्तासास्तले तेस्रो र अन्तिम आदेश जारी गरे, त्यो चाहिँ केवल मन्दिर पुनर्निर्माण मात्रै नभएर यरूशलेमकै पुनर्स्थापन र पुनर्निर्माण गर्ने बारेमा थियो ताकि त्यहाँ मसीह आउन सकेका होऊन् । यो दानिएल ५:२४-२७ को अगमवाणीको वास्तविक परिपूर्णता हो ।

अब यो भविष्यवाणीको समय कहिलेबाट शुरू भयो त ?

यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्न आदेश जारी गरिएको समयदेखि यो दुवै भविष्यवाणीको समय शुरू हुन्छ । “यो जान र बुझ, यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात् एक शासक नआउञ्‍जेलसम्म ‘सात सातहरू र बयसठ्ठी सातहरू’ हुनेछन् ।” (दानिएल ९:२५) । यरूशलेमको पुनर्निर्माण गर्न आदेश जारी गरिएको समय ई.पू. ४५७ हो । जुन हामीले एज्रा ६:१४ पदमा ३ जना राजाहरू: दारा, कोरेस र अर्तासास्त राजाहरूद्वारा यरूशलेमको पुनर्निर्माण गर्न आदेश दिइएको पाउँछौं । “इस्राएलका परमेश्वरको आज्ञाअनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका उर्दी अनुसार तिनीहरूले मन्दिरको पुनर्निर्माण गरेर काम सिध्याए ।” एज्रा ६:१४ । (साथै एज्रा ७:७, १२-२६ पदहरूलाई पढ्नुहोस्)

के ई.पू. ४५७ नै यरूशलेमको पुनस्र्थापन र पुनर्निर्माण गर्न आदेश जारी गरिएको मिति हो त? हामी कसरी निश्चिन्त हुन सक्छौं? किनभने राजा अर्तासास्तको शासनकालको सातौँ वर्षमा यो आदेश जारी भएको थियो । “अर्तासास्त राजाको सातौँ वर्षमा केही इस्राएलीहरू, केही पूजाहारीहरू, लेवीहरू, गवैयाहरू र द्वारपालहरू र मन्दिरका सेवकहरू तिनको साथमा यरूशलेममा आए ।” (एज्रा ७:७) । अर्तासास्त राजाले ई.पू. ४६४ मा शासन गर्न शुरू गरेका थिए । यो कुरा विश्वको इतिहासमा पाउँछौं । (गुगलमा हेर्नुहोस्) त्यसकारण अर्तासास्त राजाको सातौँ वर्ष (४६४-७=४५७) ई.पू. ४५७ मा नै यरूशलेमको पुनर्स्थापन गर्ने आदेश जारी भएको थियो ।

यो तस्वीर फारसका राजा अर्तासास्तको हो । यसलाई उनको चिहानमा कुँदिएको अवस्थामा भेट्टाइएको थियो । राजा अर्तासास्तले ई.इू. ४६४-४२० सम्म फारस (आधुनिक इरान) देशमा राज्य गरेका थिए । राजा अर्तासास्तले नै यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्ने अन्तिम आदेश दिएका थिए।

७० हप्‍तालाई तीन भागमा (७+६२+१=७०) विभाजन गरिएको छ (दानिएल ९:२४-२७) । ७० हप्‍ताको पहिलो भाग ७ हप्‍ता, (७x७=४९) दिन अर्थात् ४९ वर्ष यरूशलेमको मन्दिर पुनर्निर्माण गर्ने समय अवधि हो । यो समय ई.पू. ४५७ को शरद ऋतुदेखि शुरू भएर ई.पू. ४०८ मा समाप्‍त हुन्छ । त्यही वर्षमा यरूशलेमको मन्दिरको पुनर्निर्माण कार्य समाप्‍त भएको थियो । ७० हप्‍ताको दोस्रो भाग ६२ हप्‍ता (७+६२=६९) अर्थात् ४८३ वर्ष मसीह आउने समय हो ।

ई.पू. ४५७ देखि ४८३ वर्ष पछि, सन् २७ मा नासरतका येशूले बप्‍तिस्मा दिने यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो र पवित्र आत्माद्वारा अभिषेक भएर “मसीह” हुनुभयो । त्यसपछि उहाँले आफ्‍नो प्रचार यात्रा वा सेवकाई शुरू गर्नुभएको थियो । (ई.पू. ४५७ बाट ४८३ वर्ष सन् २६ हुन्छ तर त्यहाँ ई.पू. बाट सन्‌मा आउँदा १ जोड्‍नुपर्छ किनकि “०” वर्ष हुँदैन) हिब्रू शब्द “मसीह” र ग्रीक शब्द “ख्रीष्‍टोस” वा “ख्रीष्‍ट” यी दुवै शब्दहरूको अर्थ “अभिषिक्त जन” हो । ७० हप्‍ताको अन्तिम भाग १ हप्‍ता अर्थात् ७० औँ हप्‍ता, ई.पू. ४५७ देखि ७० हप्‍ता (७x७०=४९० दिन) वा ४९० वर्ष यहूदीहरूको निम्ति परमेश्वरले दिनुभएको अनुग्रहको समय थियो । त्यो समय सन् ३४ मा आएर समाप्‍त भएको थियो । त्यही बेलामा यहूदीहरूले स्तिफनसलाई ढुङ्गाले हानेर मारेका थिए । त्यही नै यहूदीहरूको अनुग्रहको समय सकिएको संकेत थियो । त्यसपछि अन्यजातिलाई सुसमाचार सुनाइएको थियो । ७० औँ हप्‍ताको बीचमा, निस्तार चाडको थुमा बलिगर्ने दिन सन् ३१ को वसन्त ऋतुमा, (सन् २७ को शरद ऋतुदेखि ३ वर्ष ६ महिनापछि) परमेश्वरका थुमा, अभिषिक्त जन वा मसीह कटौती भएका वा क्रूसमा टाँगिएका थिए । २३०० वर्षबाट ४९० वर्ष (७० हप्‍ता) कटौती गर्दा (२३००-४९०=१८१०) १८१० बाँकी हुन्छ । ई.पू. ४५७ बाट ४९० वर्ष शुरू भएर सन् ३४ मा आएर समाप्‍त हुन्छ । त्यसकारण सन् ३४ देखि १८१० वर्ष थप गरेर (सन् ३४+१८१०=१८४४) सन् १८४४ आइपुग्दछ । अर्थात् २३०० वर्ष ई.पू. ४५७ बाट शुरू भएर सन् १८४४ मा आएर समाप्‍त हुन्छ । दानिएल ८:१४ पदमा परमेश्वरले दानिएललाई २३०० दिनपछि पवित्रस्थानलाई शुद्ध पारिनेछ भनेर भन्‍नुभएको थियो । त्यसकारण २२ अक्टोबर १८४४ देखि स्वर्गको पवित्रस्थान शुद्धगर्न शुरू भएको छ । “शुद्ध” वा “धर्मी” ठहराउनको निम्ति छानबीनको न्याय गर्नु पर्नेछ । सन् १८४४ को अक्टोबर २२ तारिख बाट स्वर्गको महापवित्रत्रस्थानमा छानबीनको न्याय शुरू भएर चलिरहेको छ । यो छानबीनको न्याय मत्ती २२:११ पद अनुसार र येशूको दोस्रो आगमनको तयारी अनुसार छ (प्रकाश २२:१२) ।

अक्टोबर २२ तारिख नै कसरी ?

किनभने इस्राएलीहरूको पाप क्षमा गर्ने दिन वा प्रायश्‍चित्तको दिनचाहिँ वर्षको १ दिन, हिब्रू पात्रो अनुसार सातौँ महिनाको दसौँ दिनमा हुने गर्दथ्यो (लेवी १६:२९-३०; लेवी २३:२७) । सन् १८४४ मा हिब्रूहरूको सातौँ महिनाको दसौँ दिन अर्थात् प्रायश्‍चित्तको दिनचाहिँ अंग्रेजी पात्रो अनुसार अक्टोबर २२ तारिखको दिन थियो । त्यसकारण १८४४ अक्टोबर २२ तारिखदेखि पवित्रस्थानलाई शुद्ध पार्ने काम वा धर्मी र पापी छुट्‌याउने छानबीनका न्याय शुरू भइरहेको छ । शुद्ध र धर्मी ठहरिनको निम्ति आजैबाट आफूले थाहा पाएका सबै पापहरूलाई येशू ख्रीष्‍टसामु स्वीकार गरी पश्‍चात्ताप गर्नुहोस् र फेरि पाप नगर्नुहोस् । तपाईंलाई येशू ख्रीष्‍टले शुद्ध वा धर्मी ठहराउनुहुनेछ ।

“आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू हाम्रा महान् प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्वीकार गरेको यो विश्वास थामिराखौँ ।”

हिब्रू ४:१४

previous
अघिल्लो
अर्को
previous
chat